Breaking

समाजवादी मोर्चाप्रति देउवा खुसी हुनुहुन्छ : माधवकुमार नेपाल


काठमाडौँ – एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चा गठनबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा खुसी भएको बताएका छन् ।

गृह जिल्ला रौतहट आएका अध्यक्ष नेपालले गौर नगरपालिकाको आइतबार सुरु भएको १२औँ नगर अधिवेशनको उद्घाटन समारोहमा बोल्दै समाजवादी मोर्चा देखेर देउवा खुसी भएको प्रतिक्रिया दिएका हुन् ।

कांग्रेस सभापति देउवाले समेत मोर्चाको विरोध गरेको भन्दै केही मिडियामा झुटो समाचार आएको उनको भनाइ थियो । ‘बाहिर मिडियामा झुटो प्रचार गरियो । सिंगापुर पुगेर देउवाले मोर्चा गठनको विरोध गरे भनेर प्रचार गरियो । यो सरासर गलत हो,’ उनले भने ।

यस क्रममा अध्यक्ष नेपालले अब हातमा हात मिलाएर अघि बढ्नु पर्ने भन्दै देउवाले सुझाव दिएको पनि बताएका थिए । मोर्चा गठनले केहीको ‘निद हराम’ भएको र केहीलाई हैरान गरेको पनि उनको जिकिर छ ।