Breaking

पशुपतिको जलहरीमा प्रयोग भएको सुनको परीक्षण सम्पन्न


काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा राखिएको सुनको जलहरीमा प्रयोग भएको सुनको नापतौल र गुणस्तर परीक्षण सकाएको छ ।

अख्तियार टोलीले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, महानगरपालिकाका जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुको आइतबार अपरान्ह शिवलिङ्गबाट जलहरी निकालेर नापतौल तथा परीक्षण गरेको हो ।

सीसीटीभी समेत जडान गरी गरिएको नापतौल र परीक्षण राती १ बजे सम्पन्न भएको थियो । पशुपति क्षेत्र विकास कोष सम्वद्ध स्रोतका अनुसार जलहरी तथा जलहरीमा लगाइएको दुई थान पेटिकामा समेत गरी जम्मा एक सय ६ दशमलव ४३२५ किलो सुन रहेको पाइएको छ ।

यस्तै, जलहरी कस्नलाई बनाइएका काँटीको तौल १ दशमलव ३७५ किलो रहेको पाइएको छ । सुनको गुणस्तर भने २२ क्यारेटको रहेको स्रोतले जनाएको छ । जलहरीमा तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन पर्यटन, सँस्कृति तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललगायत १३ जनाको नाम कुँदिएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनमा पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा लगाइएको जलहरीको सुन मध्ये ११ किलो सुनको हिसाब नदेखिएको प्रश्न उठाएपछि विवाद चर्किएको थियो ।

२०७७ साल माघमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्न लगाउनु भएको थियो । पशुपति क्षेत्र विकास कोषको ५० करोड र नेपाल सरकारको ३० करोड रुपैयाँको लगानीमा नेपाल राष्ट्रबैंकबाट १ सय ३ किलो ७७३ ग्राम सुन किनेर जलहरी राखिएको थियो ।

उक्त सुनमा तामा, चाँदी र जिङ्क मिसाएर जलहरी बनाइएको थियो