Breaking

सांसदहरूले उठाएका प्रश्नको आज ८ मन्त्रीले जवाफ दिने


काठमाडौँ — प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजेका लागि संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बस्ने तय भएको संसद सचिवालयले जनाएको छ ।

बैठकमा आइतबारबाट सुरू भएको मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । आज ८ जना मन्त्रीले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

रक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।

आइतबार गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, शहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रीले जवाफ दिएका थिए ।