विदेश

रुसमा अचानक चर्कियो विद्रोह, रक्तपात हुनबाट कसरी बच्यो ?


काठमाडौँ — रुसको निजी अर्धसैनिक समूह ‘द वाग्नरका प्रमुख यभगेनी प्रिगोजिन रुसको दक्षिणी सहर रोस्तोभ छाडेर आफ्ना सेनासहित बेलारुस गएका छन् । रुसी सेनाले मोहराका रूपमा प्रयोग गर्दै आएको निजी अर्धसैनिक सेनाका प्रमुख प्रिगोजिन र उनका सैनिकमाथि रुसले लगाएका सबै आरोप हटाउने आश्वासन पाएपछि प्रिगोजिन बेलारुसतर्फ फर्किएका हुन् । पछिल्लो समय रुस ठुलो रक्तपात हुनबाट बचेको छ ।

रुसमा अचानक आन्तरिक द्वन्द्व चर्किए पछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन निकै तनावमा थिए । तर उनले त्यो तनाव लामो समय भने झेल्नु परेन । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर पेरोशेन्को मध्यस्थतामा शनिबारदेखि भएको छलफलमा वाग्नर समूह प्रमुख र उनका सेनामाथि लागेका सबै आरोप हटाउने रुसी पक्षले आश्वासन दिएपछि पुटिन तनाव मुक्त भएका हुन् । प्रिगोजिन रुस छाडेर बेलारुसतर्फ हिँडेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सहमतिसँगै वार्ता टुंगोमा पुगेको थियो । योसँगै वाग्नर समूह पनि आफूले कब्जा गरेको रुसको रोस्तोभ सहर छाडेर फर्किएको छ । वाग्नर समूहले रुसका केही भूभाग नियन्त्रणमा लिन खोजेसँगै रुसले पनि राजधानी मस्कोको सुरक्षा व्यवस्था कडा पारेको थियो ।

राष्ट्रपति पुटिनका पूर्वसहयोगी यभगेनी प्रिगोजिन नेतृत्वका वाग्नर फौजलाई रुसी सरकारले भाडामा प्रयोग गर्दै आएको थियो । वाग्नर समूहले सुरुमा २०१४ मा पूर्वी युक्रेनमा रुस समर्थक पृथकतावादी समूहसँग मिलेर लडेको थियो । त्यसपछि नै यस निजी सैन्य कम्पनीको चर्चा बढेको हो । २०२२ मा पनि यस समूहमा ठूलो संख्यामा युवाहरू भर्ति भएका थिए ।

युक्रेनमाथि रुसले हमला गरेयता विगत डेढ वर्षदेखि रुसी सेना र वाग्नर फौज एकाकार थिए । तर, पछिल्ला केही सातामा दुई समूहबीच टसल बढेको थियो ।रुसी सेनाले आफ्नो शिविरमा मिसाइल हमला गरेको भन्दै उत्तेजित वाग्नर सेनाले रुसी सेनाको नेतृत्व नै अपदस्थ गर्ने गरी युद्ध घोषणा गरेको थियो । प्रिगोजिनको वाग्नर सेनाले रुसको तर्फबाट युक्रेनमा सबैभन्दा रक्तपातपूर्ण लडाइँ लडेको थियो  । तर, रुसी सेनाका शीर्ष अधिकारीहरूसँग महिनौंदेखि यो फौजको विवाद बढेको थियो ।

विद्रोही फौजले रुसी सेनाको दक्षिणी मुख्यालय कब्जा गरेको र सहरमा नियमित गस्ती सुरु भएको दाबी गरेको छ । तर यसका लागि एउटा पनि गोली चलाउन नपरेको प्रिगोजिनका कमान्डरहरूले बताएका छन् । यध्यपी तत्कालका लागि यी दुई बीचको युद्ध टरेपनि यहीनै कालान्तर सम्म जान्छ भन्ने निश्चित छैन । लामो समयदेखि युक्रेनसँगको युद्धले क्षति व्यहोरेको रुसका लागि बाग्नर फौज घातक मानिएका थियो । तर सन्कि स्वभावका पुटिनले अहिले सुझबुझ पूर्ण निणर्य लिएर केही समयको लागि भएपनि युद्धलाई पर धकेलेकाछन् ।