Breaking

जसपाको विधान अधिवेशन आजदेखि सुरू हुँदै


काठमाडौँ — जनता समाजवादी पार्टी नेपाल जसपाको विधान अधिवेशन आजदेखि काठमाडौँमा सुरू हुँदैछ ।

तीन दिनसम्म चल्ने अधिवेशनको दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्घाटन हुनेछ । जसपा नेता राजकिशोर यादवका अनुसार विधान अधिवेशनको पहिलो दिन आज पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ ।

भोलि विभिन्न ग्रुप बनाएर छलफल गर्ने र १२ गते विधानमाथि नेताहरुले धारणा राख्नेछन् । विधान महाधिवेशनमा केन्द्रीय कमिटीका ४१० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट करिब ८०० प्रतिनिधि सहभागी हुनेछन् ।

सहभागीहरुलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल गर्ने र पास गर्ने तयारी छ । यसअघि हिजो बसेको केन्द्रीय समिति बैठकले विधान अधिवेशनको अन्तिम मस्यौदा अनुमोदन गरेको थियो ।