Breaking

पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध


काठमाडौँ – निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध भएको छ।

राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा पहिरो खस्दा गए रातिदेखि यातायात सेवा पूर्णरूपमा बन्द भएको हो । यातायात सेवा पूर्णरूपमा अवरूद्ध हुँदा यात्रु अलपत्र परेका छन् । बैतडी हुँदै बझाङ जाने र बझाङबाट बाहिरिने यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।

राजमार्ग अवरूद्ध भएपछि पहिरो पन्छाउन जेसिबी पठाइएको भए पनि वर्षा निरन्तर भइरहेकाले समस्या भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

‘पहिरो पन्छाउन जेसिबी पुगिसकेको छ, पानी पर्ने क्रम नरोकिएकाले माथिबाट पहिरो खसिरहेको छ । पहिरो पन्छाउन सकिएको छैन,’ उनले भने । पानी नरोकिँदासम्म पहिरो पन्छाउन नसकिने र राजमार्ग सञ्चालन गर्न अझै केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।