काठमाडौँ — काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह नगरसभा सदस्यहरुबाटै आलोचित बनेका छन् । आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम पारित गर्दै गर्दा मेयर बालेनमाथि नगर सभा सदस्यहरु खनिएका हुन् । महानगरलाई एकलौटी ढंगबाट चलाउन खोजेको भन्दै उनीहरुले मेयर बालेनप्रति तिब्र असन्तुष्टि जनाएका हुन् । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । असार ६ गते नगरसभामा पेश भएको नीति तथा कार्यक्रम शुक्रबार बसेको १३ औँ अधिवेशनको दोस्रो बैठकले पारित गरेको हो ।
नीति तथा कार्यक्रम सर्वसम्मतिले नै पारित भए पनि महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनप्रति भने अधिकांश नगर सभाका सदस्य असन्तुष्ट छन् । महानगरपालिकाले गरेको कुरा नगर सभा सदस्यलाई जानकारी हुनु पर्ने भए पनि त्यो हुन नसकेको उनीहरुको गुनासो छ । महानगरका मेयर बालेनले गरेको कामलाई वडाध्यक्ष देखि वडा सदस्यसम्मले नै स्वीकारे पनि उनले गरेका कार्यशैलीप्रति नगर सभामा उपस्थित धेरैले आलोचना गरे ।
महानगरका सबै जनप्रतिनिधिहरु दलीय प्रतिनिधिबाट आएका कारण सुरुमा वडाध्यक्षहरुले स्वतन्त्र मेयर बालेनलाई उकुसमुकु बनाएका थिए । तर, विकास निर्माणसँग जोडिएका कारण पहिलो आलोचना गर्नेहरुसँग सन्तुलन मिलाएको बालेनले अहिले महानगरको सबै कार्यलाई एकलौटी बनाएको भन्दै नगरसभामा मेयरमाथि तल्लो तहकै जनप्रतिनिध आक्रोशित देखिएका छन् । एक पछि अर्काे गर्दै एकलौटी ढंगमा मेयर बालेन अघि बढेको भन्दै उनीमाथि प्रश्न तेस्र्याएका छन ।
महानगरको नेतृत्व युवाले लिएकोमा शिर ठाढो भएको भए पनि मेयरले महानगरलाई व्यक्तिगत बनाउँदा भने दुःख लागेको नगर सभा सदस्यहरु बताउँछन् । महानगरले गरेको कामको जवाफदेही आफूहरु पनि हुने भएका कारण महानगरले गर्ने हरेक कामको जानकारी आफूहरुलाई पनि हुनु पर्ने उनीहरुको बुझाई छ ।
महागरको काममा सबैको सहमति भए पनि मेयरहरुले वडाका अध्यक्ष सदस्यहरुलाई जानकारी नै नदिई काम गरेको उनीहरुको आरोप छ । महानगरको कर्मचारी र नगर प्रहरीले नै वडा चलाउने भए जनप्रतिनिधिहरुको औचित्य के भन्दै प्रश्न उठएका छन् । मेयर एकलौटी ढंगले अघि बढ्दा आफूलाई जनप्रतिनिधि नै महसुस गर्न छोडेका छन् ।
मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई टेर्न छोडेका मेयर बालेनका लागि नगर सभा सदस्यको आलोचना सामान्य नै लाग्न सक्ला । बालेनले नगर सभा सदस्यलाई बेवास्ता गरे पनि सदस्यले भने आलोचनाकै बाबजुद उनको नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेका छन् । बालेनको अवधारणलाई सदस्यले स्वागत गरे पनि केही महत्वाकांक्षी देखिन्छ । केन्द्र सरकारले तुह्वाएको प्लाष्टिकमुक्त काठमाडौँलाई उनले अघि सारेका छन् ।
मेयर बालेन वडाध्यक्षलाई मिलाउन सफल देखिए पनि वडा सदस्यहरु भने कार्यशैलीबाट सन्तुष्ट हुन सकेका छैनन् । महानगरले गरेका हरेक कामको जवाफ नगर सभा सदस्यले पनि दिनुपर्छ । तर, आफूहरु वडा सदस्य नै भए पनि महानगरले आफ्नो वडामा गर्ने कामबाट अनभिज्ञ हुनु परेको उनीहरुको गुनासो छ । मेयर बालेनले महानगरलाई एकलौटी ढंगबाट हाक्नु भन्दा पनि उनीजस्तै जनताले नै रोजेका जनप्रतिनिधिहरुलाई साथमा लिएर अघि बढ्दा जनमतसँगै नगरसभा सदस्यको पनि जनप्रतिनिधि भएको महसुस गर्ने थिए ।
प्रतिक्रिया