Breaking

नेपाल योग अध्येताका लागि विश्वभरकै मूल गन्तव्य बन्न सक्छ : प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल योगसम्बन्धी ज्ञान-विज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताका लागि मूल गन्तव्य बन्न सक्ने बताएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयोजनमा बुधबार आयोजित अन्तर्राष्ट्रिय योग दिवस-२०८० को मूल समारोहमा प्रचण्डले योग नेपालकै अमूल्य निधि भएको बताए ।

प्रधानमन्त्री दाहालले तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ शरीर, आघातमुक्त चित्त विकासमा योगको महत्त्वपूर्ण भूमिका रहने बताए । योग र ध्यानका अभ्यासहरू व्यक्तिगत तहमा पुग्दा त्यसले नसर्ने रोगहरूको रोकथाम, उपचार र पुनःस्थापनाका लागि महत्त्वपूर्ण योगदान गर्ने भएकाले यसलाई व्यापक बनाई सबैलाई स्वस्थ र सुखी बनाउनेतिर कदम चाल्न योगका अभियन्ता र योगगुरुको अहं भूमिका हुने उनको भनाइ छ ।

प्रचण्डले मानव जातिको इतिहास, जीवनवृत्ति र विकासका क्रममा पूर्वीय समाजले बहुआयामिक योगदान गर्दै आएको र चिन्तन, दर्शन, सभ्यता र संस्कृतिका दृष्टिले मात्र नभएर पूर्वी वाङ्मय र जीवनशैलीमा पनि नेपाली त्यति नै वैभवशाली रहेको बताए ।

कार्यक्रममा शिक्षामन्त्री अशोककुमार राईले योगाभ्यास र अध्ययनलाई विद्यालय तहदेखि नै अपनाउँदै जान नीतिगत र कार्यक्रममिक योजना तर्जुमा गरिएको बताए। उहाँले प्रदेश र स्थानीय तहलाई पनि दिवस मनाउन आह्वान गरिएको जानकारी दिए । दिवसका अवसरमा बिहान रत्नपार्कको शान्तिबाटिकाबाट प्रभातफेरि सुरु भई कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मूल कार्यक्रम आयोजना भएको हो ।