विदेश

भारतीय प्रधानमन्त्री मोदी अमेरिका भ्रमणमा, चीनको प्रभाव कम गर्न अमेरिका भारतसँग निकट


काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ऐतिहासिक राजकीय भ्रमणका लागि संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । न्यूयोर्क शहर र वाशिङ्गटन डीसीमा हुने कार्यक्रमहरूमा सहभागी हुन मोदी अमेरिका प्रस्थान गरेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी राजकीय भ्रमणका लागि संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । मोदीको भ्रमणको कार्यक्रमहरूमा योग दिवस मनाउने, राष्ट्रपति बाइडेनसँग वार्ता गर्नेलगायातका छन् ।

प्रधानमन्त्री मोदीलाई अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले भ्रमणको निमन्त्रणा दिएका हुन् । भ्रमण न्यूयोर्कमा शुरु हुनेछ जहाँ प्रधानमन्त्रीले जुन २१ मा संयुक्त राष्ट्रसंघ मुख्यालयमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने कार्यक्रमको नेतृत्व गर्नेछन् । प्रधानमन्त्री मोदी त्यसपछि वाशिङ्गटन डीसी प्रस्थान गर्ने कार्यक्रम छ । त्यहाँ रहँदा उनले जुन २२ मा ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनलाई भेट्नेछन् । राष्ट्रपति बाइडेन र प्रथम महिला जिल बाइडेनले सोही दिन साँझ प्रधानमन्त्रीको सम्मानमा रात्रीभोजको आयोजना गर्नेछन् ।

प्रधानमन्त्री मोदीले जुन २२ मा अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । संयुक्त राज्य अमेरिकाका लागि भारतका राजदूत तरनजीतसिंह सन्धुले प्रधानमन्त्रीको भ्रमणबाट दुई देशबीचको सम्बन्धमा अर्को अध्याय थपिने बताउँदै त्यसले नयाँ दिल्ली र वासिङ्टनको साझेदारीलाई सुदृढ बनाउने उनको भनाई छ । प्रधानमन्त्री नरेन्द्र मोदी र संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिबीचको घनिष्ठ मैत्रीलाई पनि भ्रमणले प्रतिविम्बित गरेको उनले बताए ।

दुवै देशका मन्त्रिपरिषद्का सदस्यहरू र वरिष्ठ अधिकारीहरूले राजकीय भ्रमणबाट प्राप्त हुने उपलब्धिको प्रतिक्षा गरिरहेका बताउँदै राजदूत सन्धुले नयाँ दिल्ली र वासिङ्टनको सम्बन्ध सही दिशामा अघि बढिरहेको सुनिश्चित हुने जनाए । भूमण्डलीकरणको सन्दर्भमा भारत–अमेरिका साझेदारीका विविध पक्षबारे चर्चा गर्दै भारतीय राजदूतले व्यापार, रक्षा, रणनीतिक सहयोग, प्रविधि, उच्च शिक्षा र स्वच्छ ऊर्जा क्षेत्रमा दुवै देश सहकार्य गर्न उत्सुक रहेका बताए ।

पारस्परिक विश्वास र साझेदारीलाई थप सुदृढ बनाउन तथा जनस्तरको सम्बन्धलाई पनि अझ घनीभूत तुल्याउन प्रधानमन्त्री मोदीको भ्रमण फलदायी हुनेमा आफू विश्वस्त रहेको राजदूत सन्धुले बताएका छन् । रुसले युक्रेनमाथि गरेको आक्रमणलाई वेवास्ता गरेको भारतले मस्कोसँगको साथ र सहयोगलाई बढाएको छ । वासिङ्टन र मस्कोबीचको सम्बन्ध अधिक चिसिएको अहिलेको अवस्थामा पनि रुसकै मौन समर्थक भारतसँगको आफ्नो व्यवहारमा अमेरिकाले कुनै परिवर्तन गरेको छैन ।

चीनसँगको बिग्रिएको सम्बन्धलाई सन्तुलनमा राख्न वासिङ्टनले नयाँ दिल्लीसँगको सम्बन्धलाई उच्च प्राथकिता दिएको विश्लेषक बताउँछन् । मध्य तथा दक्षिण एसियाली क्षेत्रमा चीनको प्रभाव कम गर्न अमेरिका भारतसँग निकट सम्पर्कमा काम गर्न सधैँ तत्पर रहँदै आएको छ । यी दुई देशको भेटवार्ताले आगामी दिनमा मित्रतामा थम नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।