Breaking

‘अखण्ड भारत’ नक्साले समितिमा तहल्का, मारतसँग जवाफ माग, के होला नेपाल–भारत सम्बन्ध ?

योहो संवाददाता

काठमाडौँ — दुई मुलुकबीच हुने कुनै पनि उच्चस्तरीय राजनीतिक भ्रमण कुटनीतिक हिसावले अर्थपूर्ण रहन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बहुप्रतिक्षित छिमेकी मुलुक भारतको यात्रा सर्वत्र चासोमा थियो । खासगरी नेपाल–भारतबीच झाँगिदो समस्याको पुर्नअवलोकन र चिसिएको सम्बन्ध सुधारका हिसावले अर्थपूर्ण रुपमा हेरिएको थियो । तर अखण्ड भारतको नक्सादेखि चलचित्र र तरकारीसम्मका विषयमा भारतको विरोध बढ्दो छ । तामझामका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वागतको तयारी गरेको भारतले प्रधानमन्त्री प्रचण्डलाई दिल्लीमा स्वागत गर्न तीन दिन बाँकी रहँदा आफ्नो नयाँ संसद भवनको उद्घाटन गरे ।

संसद भवन उद्घाटन सामान्य भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैले उद्घाटन गरेको संसद भवनमा अंकित ‘अखण्ड भारत’ नक्सा नेपालका लागि असामान्य बन्यो । जेठ १४ गते उद्घाटन भएको संसद भवनमा नेपालको लुम्बिनी, कपिलवस्तु समेत समेटिएको ‘अखण्ड भारत’को नक्सा राखेपछि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण सुरु हुनु पूर्व नै नेपालमा भारतको चर्को विरोध सुरु भयो । नेपालमा भारत विरुद्ध प्रर्दशन भईरहेकै बेला जेठ १७ गते प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा निस्किए । प्रधानमन्त्री प्रचण्डको भ्रमणमा यो विषय उठान हुनुपर्ने चौतर्फि दवाव थियो । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको चर्चा र विरोध अझै सकिएको छैन ।

अखण्ड भारतको नक्सालाई लिएर नेपालमा सडक सदन चौतर्फि रुपमा भारतको विरोध भएपछि अन्तत सरकारले भारतको संसद भवनमा राखिएको अखण्ड भारतको नक्साको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको जनाएको छ ।

नेपालमा छिमेकी मुलुक भारतको विरोध अखण्ड भारतको नक्सामा मात्रै सीमित छैन । केहि दिन यता दक्षिण भारतीय चलचित्र आदिपुरुषमा प्रयोग भएका आपत्तिजनक संवाद चलचित्रका लेखकको अभिव्यक्तिमाथी पनि सडकदेखि सदनसम्म नै तातिएको छ । चलचित्रमा समावेश ‘जानकी भारतीय छोरी हुन’ भन्ने संवाद नसच्याइएपछि काठमाडौ, धरान, पोखरा लगायत शहरमा चलचित्र प्रर्दशन हुन सकिरहेको छैन । अर्कोतर्फ भारतबाट आयातित तरकारीका कारण स्वदेशमै उत्पादन भएका कृषिजन्य वस्तुले बजार नपाएको भन्दै कृषकहरु असन्तुष्ट छन् । केहि दिन अघि पनि कालीमाटी तरकारी बजारमा गोलभेडा फालेर विरोध भएको थियो । राष्ट्रियतादेखि जनजीविकासम्म जोडिएका यस्ता विषयहरुमा सरकार संवेदनशील बन्न सकिरहेको छैन ।

धूर्विकृत उन्मुख विश्व राजनीति, बदलिँदो भु–राजनीतिक परिवेशमा शक्ति केन्द्रको रुपमा उदाउँदो दुई छिमेकी भारत र चीन नेपालका लागि जति अवसर हो उत्तिकै चुनौति पनि । फलत सन्तुलित परराष्ट्र सम्बन्ध र प्रभावकारी कुटनीतिक अभ्यासको विकल्प छैन । तर राज्य संयन्त्र यसतर्फ अझै पनि गम्भीर बन्न सकेको छैन । नेपाल–भारत सम्बन्धका सवालमा राष्ट्रियता र सस्तो लोकप्रियताको लहलहैमा गम्भीर विषयहरु गौण र गौण विषयहरु उछालिँदा कतै क्षणिक लाभमा दुरगामी असरको लेखाजोखा हुन जरुरी छ ।