विदेश

अमेरिकी विदेशमन्त्री र चिनियाँबीच भेटवार्ता, उल्लेखनीय परिणाम भने निकाल्न सकेन


काठमाडौँ — चीनको दुई दिने भ्रमणकालागि बेइजिङ पुगेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन र चिनियाँ विदेशमन्त्री छिन काङबीच भेटवार्ता भएको छ । करीब पाँच वर्षको अन्तरालपछि अमेरिकी विदेशमन्त्रीले चीनको भ्रमण गरेको यो पहिलो पटक हो । भ्रमण तयारीको पाँच महिनापछि बेइजिङ पुगेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले चिनियाँ विदेशमन्त्री छिन काङबीच भेटवार्ता गरेका छन् । यो भ्रमण आपसी सम्बन्ध सुधारका लागि महत्वपूर्ण पहल हुने अपेक्षा अमेरिकी कूटनीतिज्ञहरूले गरेका छन् ।

केही समययता तनावपूर्ण रहेको दुई देशबीचको सम्बन्ध सुधार्नु यस भ्रमणको मुख्य लक्ष्य भएको अमेरिकी अधिकारीहरुले बताएका छन् । ब्लिङ्कनले करीब पाँच महिनाअघि नै चीनको भ्रमण गर्ने योजना रहेको थियो । तर अमेरिकी आकाशमा शंकास्पद चिनियाँ जासुसी बलुन देखिएपछि ब्लिङकनको उक्त भ्रमण स्थगित भएको थियो । र सो घटनापछि दुई देशको सम्बन्ध थप तनावपूर्ण हुन गएको थियो । दुई देशबीचको सम्बन्ध सुधारका साथै व्यापार विवाद कम गर्ने र कुनै पनि प्रकारको आपसी टकराव हुन दिनबाट रोक्ने भ्रमणमा तीन मुख्य एजेण्डा रहेको छ । अमेरिकी विदेशमन्त्रीका रुपमा ब्लिङ्कनको यो पहिलो चीन भ्रमण हो भने चीन भ्रमणमा जाने उनी बाइडेन प्रशासनको पहिलो विदेशमन्त्री पनि हुन् ।

ब्लिङ्कनको भ्रमणका क्रममा दुवै देशले द्विपक्षीय मामिलाका साथै साझा चासोका महत्वपूर्ण अन्तरराष्ट्रिय तथा क्षेत्रिय मुद्दामा छलफल गर्ने चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बताएका छन् । आफ्नो दुई दिने भ्रमणमा ब्लिङ्कनले चिनियाँ समकक्षी छिन काङका अतिरिक्त वरिष्ठ कूटनीतिज्ञ वाङ यीका साथै राष्ट्रपति सी जिनपिङलाई पनि भेट गर्ने सम्भावना रहेको छ ।

चीनसँगको तनावपूर्ण सम्बन्धको सुधार हालको भ्रमणको प्रमुख एजेण्डा हो । संवादमार्फत नै सबै असझदारीको समाधानका लागि अमेरिकाले यसपटक पहल गरेको छ । ब्लिंकेनले सुरक्षा मामिलामा बढी छलफल गरेका छन् । चीनले एशिया, अफ्रिका तथा मध्यपूर्वमा स्थापना गर्न खोजेको सैन्य क्याम्पबारे चासो राखेका छन् । यसका साथै रूसलाई जारी राखेको हतियार सहयोगबारे कडा निन्दा गरेका छन् । चीनले नियन्त्रणमा लिएका अमेरिकीलाई रिहा गर्न अपिल समेत गरेका छन् । तर आ–आफ्ना एजेण्डामा अडिग रहेको वार्ताले केही उल्लेखनीय परिणाम भने निकाल्न सकेको छैन ।

यता चीन र अमेरिकाबीच धेरै विषयमा असहमति छ । विशाल अर्थतन्त्र भएका दुई देशबीच केही ठूला विषयमा चर्को विवाद छ । सबैभन्दा ठूलो विवाद चाहिँ मानवाधिकार र प्रजातन्त्रको विषयमा छ । अमेरिकाले चीनबाट शिन्जियाङ प्रान्तमा उइगर मुस्लिम समुदायको नरसंहार गरेको आरोप लगाउने गरेको छ । अनि नयाँ सुरक्षा कानुन ल्याएर बेइजिङले हङ्कङमा प्रजातान्त्रिक अधिकारलाई दमन गर्न खोजेको अमेरिकाको भनाइ छ । व्यापारको विषयमा पनि यी दुई देशको विवाद नै छ । सधैं तनाव र विवादमा तानिरहने अमेरिका र चीनबीचको पछिल्लो भेटवार्ताले आगामी दिनमा यी दुई देशको समस्याको समाधान होला त ?