Breaking

यी ३ प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना


काठमाडौँ – सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेकोछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

आज राति कोसी, मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशसहित बाँकी पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

देशका मध्य तथा पश्चिम तराईका भू–भागमा आज अत्याधिक गर्मी हुने सम्भावना रहेको विभागले जनाएको छ । अत्याधिक गर्मी, मेघगर्जन र चट्याङ तथा वर्षाबाट हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।