Breaking

नेपाल एअरलाइन्सले ३ महिनामा ४ अर्ब नाफा कमायो भनेर मन्त्रीले झुट बोलेः सांसद प्रेम आले


काठमाडौँ नेकपा (एकीकृत समाजवादी)का सांसद प्रेम आलेले पशुपति क्षेत्रको जग्गा बिचौलियाले अपचलन गरेको बताएका छन् । बिहीवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद आलेले पशुपति क्षेत्र विकास कोषको जग्गा बिचौलियाले अपचलन गरेको बताए । उनले पशुपतिको मूर्ति तथा बहुमूल्य सम्पदा चोरिँदा पनि पर्यटनमन्त्री र पदाधिकारी मस्त निद्रामा रहेको आरोप लगाए । उनले गोठाटारको ३१ रोपनी जग्गा बिचौलियाले लिएर अपचलन गरेको बताए ।

आलेले भने, ‘मूर्ति तथा बहुमूल्य सम्पदा चोरिएको छ । कोषका अध्यक्ष मन्त्री र पदाधिकारी मस्त निद्रामा छन् । गोठाटारको ५३५ रोपनी जग्गामध्ये ५०४ रोपनी मात्र हालसाबी गरेर ३१ रोपनी जग्गा बिचौलियासँगको मिलेमतोमा अपचलन गरी त्यही जग्गा अपचलनमा मुछिएका बिचौलियालाई कोषको सदस्यमा नियुक्ति दिइएको छ । गोठाटारको जग्गाको विषयलाई सत्यतथ्य ल्याउने सदस्यलाई हटाउन स्पष्टीकरण सोधिएको छ ।

सांसद आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विगत ३ महिनामा नेपाल वायुसेवा निगमले ४ अर्ब नाफा कमायो भनेर झूटो बोलेको बताए । उनले निगमको यथार्थ आर्थिक अवस्थाको बारेमा संसद्लाई जानकारी गराउन माग गरे । उनले थन्किएका जहाजलाई व्यवस्थापन गर्न मन्त्रीलाई चुनौती दिए ।

उनले भने, ‘यो वर्ष महालेखा प्रतिवेदन र अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षणमा नेपाल वायुसेवा निगमको घाटा १ अर्ब ७० करोड देखिएको छ । वायुसेवाको कुल ऋण ५० अर्ब नाघिसकेको छ तर तीन महिनामा निगमले ४ अर्ब नाफा कमायो भनी पर्यटन मन्त्रीले सञ्चारमाध्यममा झूटो बोल्नुभयो । जनतालाई भ्रम छर्न पाइँदैन । निगमको यथार्थ आर्थिक अवस्था कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको लाखौँ बचतकर्तालाई स्पष्ट जानकारी गराइयोस् ।
उनले पर्यटनमन्त्री किरातीलाई स्टन्ट मन्त्रीको संज्ञा दिए ।