Breaking

मन्त्री नै गैर जिम्मेवार, प्रश्न उठाउने कि समाधान दिने, लाज पनि लजाउने मन्त्रीको बोली


काठमाडौँ — पार्टीभित्र हानाथाप गरेर समस्या समाधान गर्न मन्त्री बनेकाहरु समस्या अल्याएर नै दिन बिताइरहेका छन् । समस्या अनि कारण दुवैबाट अवगत मन्त्रीहरु नतीजामुखी काम गर्न भने चुकिरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको २० दिन भइसकेको छ । मन्त्री मण्डलले पूर्णता पाएको बल्ल एक महिना महिना हुँनै लाग्दा फेरि नयाँ पार्टीलाई सरकारमा ल्याउने गृहकार्य चलेको छ ।

सीके राउतको जनमत पार्टीलाई भने जस्तो मन्त्रालय दिएर सरकारमा फर्काउन कसरत राम्रै चलिरहेको छ । दुई महिनाअघि असन्तुष्ट भएर सत्ता छोडेको जनमतका नेताहरु फेरि मन्त्रालयको नेतृत्व गर्न लालायित देखिन्छन् । सत्ता साझेदार पार्टीका हरेक नेताहरु मन्त्री बन्ने मनोकांक्षा बुनेर बसेका छन् । तर, काम गर्न जनताको नाममा शपथ लिएर मन्त्रीको कुर्सीमा विराजमान माननीय मन्त्रीज्यूहरुको दिनचर्या भने समस्या औल्याएर नै व्यतीत भइरहेको छ । समस्या बुझेर जानेर नै मन्त्रालयमा पुगेका मन्त्रीहरु अझै पनि त्यही पुरानै समस्या दर्शाउँदै लाज पनि लजाउने गरि सेवा प्रदान गर्न नसकेको सार्वजनिक मञ्चबाटै बोलिरहेका छन् ।

असन्तुष्टलाई सन्तुष्ट पार्ने ठाउँमा पुगेका उनीहरुलाई समस्याको अवगत पनि छ र कारण पनि उनीहरु आफै बताईरहेका छन् तर, समाधान गर्न भने असक्षम छन् । नेपालमा स्वास्थ्य क्षेत्रको अवस्था नाजुक छ भन्ने सबैलाई थाहा छ । देशका पूराना र सबैको पहुँचका वीर, शिक्षण जस्ता अस्पतालको हालत दयनीय भएको सारालाई विदितै छ । तर, पनि नतीजामुखी परिणाम देख्न पाइदैन । बरु, यस्ता अन्य समस्यालाई देखाउँदै समाधानबाट भाग्न खोजिरहेका छन् ।

समस्या आम नागरिकले पनि देखाई नै रहेका छन् । पार्टीभित्र हानाथाप गरेर समाधान खोज्न आएका प्रचण्ड नेतृत्वका मन्त्रीहरु सबै आफ्नै तालमा छन् । पर्यटन मन्त्री सुदन किराँती कुचो लिएर पशुपति र बौद्ध पुग्ने गरेका छन् कोही अनुगमनको नाममा मिडियाबाजी गर्दै जिम्मेवारबाट भागिरहेका छन् । प्रयोगात्मक र नतीजामुखी हुनुपर्ने कतिपय मन्त्रीहरुको अत्तोपत्तो छैन । जनताको सेवा गर्न राजनीतिमा होमिएकाहरुले त्यस अनुरुपका काम भने गर्न सकेको छैन ।

मन्त्री बन्न मरिहत्ते गर्नेहरु मन्त्री बनिसकेपछि आफ्नो दायित्व भुल्ने गरेका छन् । समाधानको आश गरेका मन्त्रीहरुले नै समस्या मात्रै देखाउँदा कुर्सीको अवहेलना भएको छ । आम नागरिकको सेवा गर्छु भनेर जनताको नाममा शपथ खाने तर काम गर्नुको साटो कुर्सीमा मात्रै टासिरहनुको कुनै अर्थ छैन ।