Breaking

नेकपा ब्यूताउन कम्युनिष्ट नेताको एकै स्वर, प्रचण्ड–माधवले थाले गृहकार्य यस्तो छ टुटफुटको श्रृंखला


काठमाडौँ — नेपाली कम्युनिस्ट आन्दोलनमा फुट र जुटको सबैभन्दा बढी चर्चा हुने गर्छ । सैद्धान्तिक रूपमा मूलतः एकै ठाउँ भेटिने कम्युनिस्टहरू सत्ता र पार्टी नेतृत्व विवादले फुट्ने गरेको इतिहास रहेको छ । प्रजातान्त्रिक शक्तिको तुलनामा वाम शक्तिबीच फुटको शृंखला निकै रोचक छ । २०७५ मा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो । तर, नेकपाको सत्ता सहयात्रा लामो समय टिक्न सकेन । केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपासम्म आइपुग्दा २१ औँ पटक वाम शक्तिबीच एकता भयो ।

२०१४ सालमा पहिलो विभाजनको बीउ रोपिएपछि लामो समय फुटको नियति बेहोरिरहेका कम्युनिष्ट शक्तिमा जुटको शृंखला खासै उपलब्धिमुलक देखिएको छैन् । कम्युनिस्ट समूहहरू बीच हरेक स्वार्थमा एकअर्कालाई हेर्ने र परिभाषित गर्ने क्रम चलिरहन्छ । उनीहरू रिस उठ्यो भने एकले अर्कालाई गद्दार, प्रतिक्रियावादीको एजेन्टजस्ता शब्दावलीले गालीगलौज गर्न पनि पछि पर्दैनन् । स्वार्थ मिल्यो भने सबै गाली बिर्सेर गला मिलाउन पनि लाज मान्दैनन् । त्यसैको शृंखला अहिले पुनः निरन्तरता पाउने चर्चा सुरू भएको छ ।

कम्युनिष्टहरू अहिलेसम्म जुटेको भन्दा फुटेको इतिहास धेरै छ । आफ्नो ७४ वर्षे इतिहासमा कम्युनिष्ट पार्टीहरू लगभग त्यति नै पटक फुटेका छन् । टुटफुट र विभाजनको यो विरासतीय शृंखला यतिखेर नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट फुटेर नेकपा (एकीकृत समाजवादी) सम्म आइपुगेको छ । एकातर्फ सत्ताघटकसंग दूरि बढाएका तथा बजेट हुवहु पास भए सरकार छाड्नेसम्मको चेतावनी दिएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेकपा व्युताउन आह्वान गर्न थालेका छन् ।

माओवादी र एकीकृत समाजवादीले वृहत एकताको कुरा उठाउँदै आएका छन् । एमाले तयार हुने हो भने नेकपा ब्युतने अवस्था पनि रहन सक्छ । कम्युनिष्ट फुटको फाईदा सबैभन्दा बढी कांग्रेसलाई पुगेको छ । संसदमा स्पष्ट बहुमतमा रहेका आफ्नो एजेण्डा लागू गर्ने अवस्थाका कम्युनिष्टहरू छैनन् । राष्ट्रिय एकता अभियान नै घोषणा गरेका वामदेव गौतम एमालेले ७० बर्षे उमेरहद हटाउने निर्णय गरेसँगै खुःशी देखिएका छन् ।

पटक–पटकका विभाजन र टुटफुटले कम्युनिष्टहरूको दर्शन, सिद्धान्त र कुलिङमै गम्भीर त्रुटि देख्नेहरू पनि छन् । कम्युनिष्ट पार्टीहरूमा टुटफुट, गुट र विभाजनका शृंखलाहरू नेपाली जनजीविकाका तमाम समस्या हल गर्नेतर्फ नभई फगत सत्तास्वार्थ र पद–प्रतिष्ठाकै लागि देखिदै आएको छ ।