काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर जाने भएका छन् । मंगलबार (आज) राति ११ देउवा फलोअपका लागि सिंगापुर जान लागेको उनको सचिवालयले जनाएको छ । देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार २–२ वर्षमा ‘फलोअप’मा जानुपर्ने थियो । २०७८ असारमा देउवा प्रधानमन्त्री बनेपछि व्यस्तताका कारण ‘फलोअप’का लागि सिंगापुर जाने परिस्थिति बनेन ।
भानुका अनुसार पार्टीको १४ औं महाधिवेशन र स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका कारण ‘फलोअप’ रोकिएको थियो । देउवाले २०७० यता सिंगापुरको माउण्ट एलिजावेथ हस्पिटलमा उपचार गराउँदै आएको देखिन्छ । ‘करिब डेढ दशक अघि वीर अस्पताल र टिचिङमा धेरै उपचार गराउनु भयो । टिचिङमा मधु घिमिरेले हेर्नु भएको थियो,’ भानुले रातोपाटीलाई भने, ‘रोग नै पत्ता लागेन । पछि सिंगापुरमा उपचार गराउँदा पेटमा समस्या देखियो ।
उनका अनुसार २०७३ भदौ १० मा देउवा स्वास्थ्य जाँचका लागि पत्नी आरजु देउवा राणासहित सिंगापुर पुगेका थिए । त्यसपछि २०७५ साउन २३ मा पनि देउवा उपचारका लागि सिंगापुर गएका थिए । त्यतिबेला आँखासँगै पेटमा समस्याको पनि उपचार गरिएको थियो । ‘सिंगापुरमा उहाँको आँखाको समेत उपचार गरेपछि चस्मा लगाउन छाड्नु भएको हो । आँखाको लेन्सको समस्या थियो, अहिले निको भएको छ,’ उनले भने ।
भानुका अनुसार त्यसको ११ महिनापछि ९ जेठ २०७६ मा देउवा पुनः सिंगापुर गएका थिए । चार वर्षपछि देउवा दम्पतीको सिंगापुरमा उपचार हुने भएको छ । भानुका अनुसार कांग्रेस केन्द्रीय सदस्य तथा देउवा पत्नी आरजु राणा सोमबार नै सिंगापुर प्रस्थान गरिसकेकी छन् । आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत पूर्व प्रधानमन्त्री देउवा सिंगापुर जाँदै छन् । देउवाका साथ भानु पनि जाने भएका छन् ।
प्रतिक्रिया