Breaking

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आजै विश्वासको मत लिने


काठमाडौँ – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने भएका छन् ।

मंगलबार साँझ ५ बजे प्रदेश सभाको आकस्मिक बैठक बोलाएर मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेको जनता समाजवादीका सांसद रामअतिश यादवले जानकारी दिए ।

उनका अनुसार पुरानो सत्ता समिकरणमा आबद्ध दल सरकारबाट बाहिरिएकाले विश्वासको मत लिन लागेका हुन् । नेकपा एमालेले केन्द्रको सरकार परिवर्तन भएसँगै सरकारबाट बाहिरिएको थियो । सरकारबाट बाहिरिएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने बाध्यता छ । त्यसो नगरे सर्वोच्च अदालतमा रिट परी कानुनी अड्चन आउने भन्दै मुख्यमन्त्री यादवले आकस्मिक बैठकमार्फत विश्वासको मत लिन लागेका हुन् ।

सरोजकुमार यादव गत पुस २७ गते नेकपा एमाले, जसपा र जनमत पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थिए । एमालेले त्यतिबेला तीन वटा मन्त्रालय पाएको थियो । भौतिक पूर्वा‍‍धार मन्त्रालयमा सरोजकुमार यादव, गृह तथा सञ्चार मन्त्रालयमा शत्रुधनप्रसाद सिंह र कानुन न्याय तथा प्रदेश मामिला मन्त्रालयमा राजकुमार लेखी थिए ।

त्यसयता कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत र जसपा सरकारमा सहभागी छ । तर माओवादी केन्द्रले आजको प्रदेश सभा बैठकमा यादवलाई विश्वासको मत नदिने निर्णय समेत गरेको छ ।

माओवादी केन्द्रले अहिले एउटा मन्त्रालय पाएको छ । तर दुईटा मन्त्रालय माग गरिरहेको छ। यसअघि पनि माओवादीले असन्तुष्टि जनाउँदै दुई वटा प्रदेश सभा बैठक बहिष्कार समेत गरेको छ । यसो त नेकपा एमालेले भने आजको बैठकमा मुख्यमन्त्रीलाई विश्वासको मत दिने तयारी गरेको छ ।