Breaking

आगामी आर्थिक वर्षको बजेटबारे सांसदलाई अर्थमन्त्रीको जवाफ, स्वर्णिम वाग्ले र गोकुल बाँस्कोटाको प्रश्नै प्रश्न


काठमाडौँ — अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्यमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका छन् ।प्रतिनिधिसभा बैठकको सुरुदेखि नै अर्थमन्त्री महतले जवाफ दिन सुरु गरेका थिए । १५ जेठमा प्रतिनिधिसभामा पेश भएको बजेटमाथि सांसदहरुले छलफलमा भाग लिंदै विभिन्न प्रश्न उठाएका थिए । सोमबारको बैठकमा अर्थमन्त्री महतले त्यसको जवाफ दिएका हुन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले लिएको आर्थिक वृद्धि र राजश्वको लक्ष्य पूरा गर्ने दाबी गरेका छन् । सरकारले आगामी आर्थिक वर्षमा लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्नसक्ने आधारहरु रहेको भन्दै उनले सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि गर्नेगरी आर्थिक वर्षको पहिलो दिनेदेखि काम थालनी गर्ने बताए । उनले ६ प्रतिशतको आर्थिक वृद्धि गर्न निजी क्षेत्रको महत्वपूर्ण भुमिका हुने भन्दै सरकारले गरेर मात्रै पुग्न नसक्ने बताए ।

सोमबारको बैठकमा राजस्व संकलन र विदेशी दाताले बोलेको सहयोग रकमबारेसमेत छलफल भएको थियो । अर्थमन्त्रीको राजस्व संकलन र विदेशी दाताले बोलेको सहयोग रकमबारे प्रष्ट पार्ने कोसिस गरेपनि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद स्वर्णिम वाग्लेले भने यो सम्भव नभएको बताए । उनले अर्थमन्त्री महतलाई नै यो कसरी सम्भव छ ? भनेर प्रतिप्रश्न गरे ।

बैठकमा अर्थमन्त्री महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरिएकोमा असन्तुष्टि जनाए । उनले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको विशेषताको कुरै नभएको र गलत प्रचार बढी भएको र सरकारले उक्त कार्यक्तम अन्तरगत सडक, सिंचाई, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद लगायतका भौतिक पूर्वाधार निमार्णका आयोजनाका लागि ८ अर्ब २५ करोड विनियोजन गरेको बताए ।

अर्थमन्त्री महतले प्रतिनिधिसभा बैठकमा दिएको जवाफप्रति के सत्तापक्ष, के प्रतिपक्ष, दुबै पक्षका सांसदले चित्त बुझाउन सकेनन् । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले अहिलेको सरकारलेआगो लागेपछि मात्रै कुवा खन्न हिँड्ने प्रवृत्ति देखाएको टिप्पणी गरे । उनले सरकारको अहिलेको गतीले कसरी अर्थतन्त्र टिक्छ भन्ने प्रश्न मात्रै उठाएनन्, गोरखा र नुवाकोटमा मात्रै बजेट किन ओहिर्याएको ?भनेर सोध्न भ्याए ।

बैठकमा नेकपा एमालेसहित अरु राजनीतिक दलका सांसदहरुले समेत बजेटबारे प्रतिप्रश्न गरे । बैठकमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले तातोपानी नाकादेखि मेलम्ची खानेपानीसम्म बजेटमा किन ध्यान दिन सकिएन ? भनेर प्रश्न गरे । अर्थमन्त्री महतले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि सरकारले सार्वजनिक गरेको १७ खर्ब ७१ अर्ब रुपैयाँ बजेटमाथि सांसदले उठाएका प्रश्नहरुको जवाफ दिएका हुन् । । १५ जेठमा प्रतिनिधिसभामा पेश भएको बजेटमाथि सांसदहरुले छलफलमा भाग लिंदै विभिन्न प्रश्न उठाएका थिए ।