Breaking

माधवलाई पार्टी धान्न धौ-धौ, एमालेमा फर्केलान् समाजवादी ? (भिडियोसहित)


काठमाडौँ – सत्ता गठबन्धनको साहारामा राजनीतिक यात्रा गरिरहेका नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालको छटपटी बढेको छ ।

प्रचण्ड–देउवाको बेवास्ता, समाजवादी मोर्चा र पार्टीका नेताहरु पनि पुरानै पार्टी एमाले फर्कन थालेपछि नेकपा एसको नेतृत्वलाई आगामी यात्राबारे उकुसमुकुस भएको देखिन्छ ।
सत्तागठबन्धनदेखि सरकार नै आफ्नो पार्टीको इसारामा अघि बढिरहेको आत्मरतीमा रमाइरहेका नेकपा एकीकृत समाजवादीका नेताहरुको छटपटाहट छताछुल्ल भएको छ । मातहतका नेताहरु र कार्यकर्तालाई थमथमाउन सरकारमा हाम्रो निर्णायक भूमिका छ भन्दै ढाडस दिने नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल सम्भवत अब यस्ता आडम्बरी तर्क गर्न छाडेका छन् ।

निरन्तर प्रधानमन्त्री प्रचण्डको बेवास्ता, र काँग्रेस सभापति देउवाले लगातार गरिरहेको मुल्यहिन् व्यवहारलाई सहन नसकेर हुन सक्छ माधव नेपाल मात्रै होइन उनी मातहतका अन्य नेताहरु समेत आक्रोशित बनेका छन् । आगामी आर्थिक वर्षको बजेटमा समेत समाजवादी पार्टीको कतै बचन नअडीएपछि समाजवादी पार्टीमा छटपटाहट छ ।

सरकारमा बसिरहे पोल्टामा रहेको समेत पोखिने, पोल्टामा मात्रै चित्त बुझाउँदा छाक नटर्ने भएपछि एकिकृत समाजवादी पार्टी किङकर्तव्यविमुढ भएका छन् । चर्काे घाममा पिल्सीएको छटपटाहट सर्प झैँ माधव नेपाल सुरक्षित राजनीतिक शितलाको खोजीमा छन् । भलै प्रचण्ड समेत रहँदाको नेकपा एमाले नै व्युँताउन किन नपरोस ।

माधवको एकीकृत समाजवादी सरकारमा सामेल छ । तर, बजेट बनाउँदाको पक्षपात र ज्यादतीको आक्रोश उनको पार्टीभित्र देखिन्छ । जसका कारण एकीकृत समाजवादीका नेताहरु यही अवस्थामा बजेट पास गर्न नदिने मनसायमा छन् । उनीहरु सत्ताधारी भएपनि विपक्षी दलको भन्दा चर्काे स्वर सरकारविरुद्ध छ ।

गठबन्धन र सरकारको अन्याय सहन नसक्ने बताइरहेका उनीहरुको छटपटी यति धेरै सतहमा आएको छ कि सरकार छोड्न नै तयार भएका छन् । खुट्टै टेक्न नसक्नले गरि लरबरिएर अरुको साथ खोजिरहेको माधवमात्रै होइन, एकीकृत समाजवादी भित्र उनी जस्तै नेता तथा बाहालवाला सांसदको पनि छटपटाहट बढेको छ ।

पार्टीका सम्मनीत नेता झलनाथ खनाल, राम कुमारी झाँक्री जस्ता प्रभावशाली नेताहरु पहिले देखि नै छटपटी थिए । अहिले अन्य नेताहरु पनि उनीहरुकै बोली बोल्न सुरु गरेका छन् । एस नेतृत्वको हात समाएर पार्टीमा आएकाहरु उकुसमुकस हुँदा पुनः पुरानै घर नेकपा एमाले फर्कने क्रम पनि जारी नै छ । राजनीतिक संस्कार भएन, पार्टी चलाउन जानेन भन्दै एमालेसँग अलग्गिएर छुट्टै पार्टी खोलेको माधवको छटपटी आखिर किन त ? १५ वर्षसम्म एमालेमा एकछत्र राज गरेका माधवको अहिले गठबन्धनको नियन्त्रणमा बस्नु पर्ने नियती बनेको छ । प्रचण्ड देउवाको टेको बनेका उनी आफ्नो राजनीतिक भविष्य पनि सुनिश्चित गर्न चाहन्छन् ।

गठबन्धनको बाइपासमा परेर छपपटीरहेका उनी निरन्तर समाजवादी मोर्चादेखि नेकपा व्युताउँने कसरतमा पटक पटक लागि परेका छन् । बामदेव गौतमसम्मको हात तान्न सक्रिय रहेका केपी शर्मा ओलीले माधव नेपाल समूहलाई औपचारिक निम्तो गर्न चाहीँ अहिलेसम्म अघि सरेका छैनन् । यद्यपी विश्लेषकहरुका अनुसार एमाले प्रवेशका लागि माधव नेपाल समूह केपी शर्मा ओलीबाट एकै वचन भए पनि पार्टी एकताका लागि औपचारिक निम्तो आए हुन्थ्यो भन्ने आशमा देखिन्छन् ।