देश

ठाङ्गु टासी छ्योलिङ गुम्बाका प्रमुख लामा रिम्पोछेको निधन


काठमाडौँ — काभ्रेको नमोवुद्धस्थित वुद्ध ध्यान तथा शैक्षिक केन्द्रका प्रमुख तथा ठाङ्गु टासी छ्योलिङ गुम्बाका प्रमुख लामा काभ्रे नमोवुद्ध वुद्ध गुरु योङ्जेन खेन्छेन ठांगु रिम्पेछेको निधन भएको छ । कग्यु संप्रदायका मुल गुरु ठांगु रिम्पोछेको ९१ वर्षको उमेरमा निधन भएको सो गुम्बाले बिहीबार विज्ञप्ति जारी गरी पुष्टि गरेको हो । भोट पात्रो अनुसार चौथो महिनाको पूर्णिमाका दिन गत (आइतबार) उनको निधन भएपनि धार्मिक मान्यता अनुसार केही दिन सूचना सार्वजनिक नगरिएको विज्ञप्तिमा भनिएको छ ।

लामा गुरु योङ्जेन खेन्छेन ठाङ्गु रिम्पेछेको पहलमा तिब्बत, नेपालको नमोवुद्ध, बौद्ध, क्यानडा, भक्तपुर, भारतको वाराणासी, नेपालको स्वयंभू, मनाङ लगायतका विभिन्न ठाउँमा ठांगु टासी छ्योलिङ गुम्बा निर्माण भएको छ । त्यस्तै गोरखाको चुम तथा नुब्री क्षेत्रका विभिन्न ठाउँमा पनि सोही नाममा गुम्बा तथा ध्यानकेन्द्र निर्माण भई सञ्चालनमा छन् । उनले काठमाडौंका विभिन्न ठाउँमा हिमाली भेगका बालबालिकालाई छात्रवृत्तिमा पढाउनका लागि विद्यालय सञ्चालन गरी हजारौँ विद्यार्थीहरूलाई पढाइरहेका छन्।