Breaking

एक्लिँदै प्रचण्ड, ओलीको लगातार प्रहार, प्रचण्ड ढाल्न कार्यकर्तालाई उत्तेजक निर्देशन, माओवादी उत्रियो टकरावमा


काठमाडौँ — नेपाली राजनीतिका लागि ओली–प्रचण्ड मिलन र विग्रह सामान्य चक्र जस्तो बनेको छ । तर पछिल्लो टकराव सामान्य छैन ।सत्ताको नेतृत्व गरेका प्रचण्ड र प्रतिपक्षीको मोर्चाबन्दी गरेका ओलीबीचथप तनाव बढेको छ । नेकपा एमालेका अध्यक्ष ओली बिहिबार आवेगमा आगो सल्काउँदै आक्रोशित भएर अन्धाधुन्धअंगार ओकल्न अघि बढे ।‘यो प्रचण्ड सरकार’ भन्दै बोलेका उनी असन्तुष्टिको आवेगलाई यसै रोक्ने पक्षमा देखिएनन् । मिल्ने भए मुखै छोड्ने मुडमा देखिएका उनले प्रचण्डका अनेक चरित्रको व्याख्या गर्दै प्रहसनको कसरतमाउत्रिए ।

मुख्यतः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पछिल्ला कदममाथि आवेग ओकल्दै आएका उनी सरकारबाट एमालेमाथि घेराबन्दी भएको भन्दै असन्तुष्ट छन् । त्यसमा पनि कोशी प्रदेशमा चलिरहेको पहिचानवादी आन्दोलन एमालेका विरुद्ध केन्द्रीत बनेपछिओलीको आवेग प्रचण्डमाथि केन्द्रीत छ । किनकि कोशी प्रदेश नामाकरण गर्ने प्रस्तावमा माओवादीले समेत मत हालेको थियो । तर कमजोरी भयो भन्दै माओवादी पहिचानवादीकै पक्षमा उभिएपछि किराँत लिम्बुवान्हरुको निशाना एमालेमाथि मात्रै छ । तर आवेगमा आएका ओलीले यसको मतियार प्रचण्डलाई भनेका छन् । प्रधानमन्त्री प्रचण्डकै तजबिजमा हमला भइरहेको भन्दै आफ्ना कार्यकर्ताको रक्षा आफै गर्ने ओलीको उद्घोष छ । र उत्तेजित बनाउँदै कार्यकर्तालाई निर्देशन दिएका उनले ‘अब एमाले दनक दिनेगरि’ अघि बढ्नुपर्ने बताएका छन्।

आफैमाथि ढुंगामुढा हुँदा पनि सरकारले वेवास्ता गरेको आरोप ओलीको छ । पहिचानवादीहरु एमाले कार्यकर्ताको ज्यानमाथि जाइलाग्दा पनि सरकारले छुट दिएको भन्दै ओली प्रधानमन्त्री र गृहमन्त्रीमाथि क्रुध छन् । तर ओलीबाट चरम आलोचना भएपछि सरकारका गृहमन्त्रीले अराजक कसैलाई नछोड्ने दाबी गरेका छन् ।

तथापी कोशीको विषय मात्रै ओली–प्रचण्ड टकरावको कोशेढुंगा होइन । पुस १० को गठबन्धन भत्किएर प्रचण्डको भ्याकुर खेदाईमा परेपछि ओली हिजोआज सत्ताको सबथोकबाट विकल्पहिन छन् । सरकार ढाल्न खोज्यो, प्रचण्डसँगै बहुमत छ ।गठबन्धन भाँड्न खोज्यो, दलहरुले पत्याएका छैनन् । चुपमात्रै बस्दा पनि कमजोर प्रतिपक्षी आरोप लाग्ने भय छ । फलतः‘काम न धाम पेटभरि माम’ भनेजस्तैप्रचण्डमाथि दबाब राख्न कुनै कसरत बाँकी नराख्ने नीतिमा ओली छन् ।

प्रचण्डको भारत भ्रमणलाई ओलीले १५ वटा भैंसीको उपलब्धीमा सीमित बनाइदिएका छन् ।भर्खरै सरकारले ल्याएको बजेटलाई सच्याउन माग गरिरहेका छन् । फलतः प्रचण्डमाथि ओलीको आवेगलाई रोक्न माओवादी नेताहरुले जवाफ फर्काउनु परेको छ ।शुक्रबार जनार्दन शर्माले माओवादीको शक्तिबिना तपाईँको सिंहदरबारको यात्रा कठिन छ भन्दै चेतावनी दिए ।

पुस १० मा बनेको बालकोट गठबन्धनकै बलमा प्रचण्ड प्रधानमन्त्री बनेपछि एमाले–माओवादी सम्बन्धमा समेत नयाँ मोड आएको थियो ।ओली–प्रचण्डबीच तिक्तता भूलेर नयाँ सहयात्राको सुरुवात गर्ने सहमति भएको थियो । तर बालकोटभित्र अत्याचार सहेको भन्दै प्रचण्ड फागुन १२ मा काँग्रेस नेतृत्वकै गठबन्धनमा फर्किएपछि ओली आक्रोशित बनेका हुन् ।

पछिल्लोसमय उनीहरुको सहयात्रा नक्कली भुटानी शरणार्थी प्रकरणले जुराएको थियो । लगालग बालुवाटार–सिंहदरबारको चक्कर काटेपनि सम्बन्धको चिसोपन स्वार्थले अन्त्य गर्न सकेन । र उनीहरु पूर्ववत अवस्थामै फर्किएका छन् । यद्यपी ओलीको प्रचण्ड लक्षित तापक्रम नवलपुरको दुम्कौलीमा अधिकतम मापन गरिएको ‘रेकर्ड ब्रेक’ ४४ डिग्रिभन्दा माथि पुगेको छ ।