Breaking

स्वर्णिम वाग्ले बोल्न खोज्दा अर्थमन्त्री गायब, ओलीमाथि खनिए जनार्दन शर्मा


काठमाडौँ — अर्थमन्त्री डा. प्रकाशशरण महतले उठेका प्रश्नको जवाफ दिएसँगै राष्ट्रियसभा बैठकमा बजेटमाथिको छलफल सकिएको छ भने बैठक २ हप्ताका लागि स्थगित भएको छ । प्रतिनिधिसभा बैठकमा शुक्रबार पनि अर्थमन्मत्री डा. महतको उपस्थितीमा बजेटमाथि छलफल भयो । छलफलमा सहभागी अधिकांस सांसदहरुले सरकारले सार्वजनिक गरेको बजेटको चर्को आलोचना गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा पनि आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमाथि सांसदहरुले आफ्नो धारणा राखे ।

बैठकमा सत्तापक्षकै सांसदहरुले बजेटमाथि असन्तुष्टि जनाए भने प्रतिपक्षी दलका सांसदहरुलेसमेत बजेट आश्वासनको पोकोमात्रै रहेको आरोप लगाए । छलफल भईरहँदा सम्बन्धीत मन्त्री नै उपस्थित नभएको भन्दै शुक्रबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले अवरोध गरे । बैठकमा सम्बन्धित मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने नियम उलंघन भएकाले भन्दै रास्वपा सांसद सुमना श्रेष्ठले नियमापत्ति जनाएलगत्तै बैठक केहीबेरका लागि स्थगित भयो ।

रास्वपा सांसद स्वर्णिम वाग्ले आफ्ना धारणा राख्न रोस्टममा पुगेपनि अर्थमन्त्री नदेखिएपछि रास्पाका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटपछि स्थगित गरिदिएका हुन् । १५ मिनेटपछि सुरु भएको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत उपस्थित भने रास्वपा सांसद वाग्लेले आफ्ना धारणा राखे । उनले बजेटमा आयको अनुमान अविश्वासनिय र व्ययको अनुमान ईच्छाप्रेरित रहेको बताए ।

बजेटमाथि धारणा राख्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं सांसद गोकर्ण विष्टले गोर्खा, डडेलधुरा र नुवाकोटमा केन्द्रित हुनेगरी बजेट आएको आरोप लगाए । सत्तारुढ दलका शिर्ष नेताहरुको पहुँचमा हुने गरी बजेट आएको भन्दै उनले यो बजेट आफूहरुलाई मान्य नहुँने बताए । सचिव विष्टले बजेटले मुलुकको आर्थिक मन्दीलाई सम्बोधन गर्न नसक्ने दाबीसमेत गरेका छन् ।

सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले भने बजेटको बचाउ गरे । उनले अध्यक्ष केपी शर्मा ओली र एमालेका सांसदहरुले बजेटबारे दिएको अभिव्यक्ति पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेको आरोप लगाए । अध्यक्ष ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई शुन्य मार्क दिएको भन्दै शर्माले यो मूल्यांकन सत्ताबाट विमुख हुनुपर्दाको पूवाग्रह र प्रतिशोधबाट प्रेरित रहेको बताए । बजेटलाई राजनीतिक रंग दिएर हेर्ने काम बस्तुनिष्ट हुनै नसक्ने भन्दै उनले आगामी १० वर्षको बजेटको बस्तुनिष्ट समिक्षा गर्नका लागि उच्चस्तरीय आयोग बनाउन प्रस्ताव समेत गरे ।

आगामि आर्थिक वर्षको बजेटमाथि अर्थमन्त्री डा.प्रकाशशरण महतले उठेका प्रश्नहरुको जवाफ दिएलगत्तै राष्ट्रियसभा बैठक २ हप्ताका लागि स्थगित भएको छ । प्रतिनिधिसभा बैठकमा पनि अर्थमन्त्री महतले आईतबार जवाफ दिने बताईएको छ । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको १७ खर्ब ५१ अर्ब रुपैयाँ बराबरको बजेटमाथि छलफल गरेर यसलाई पास गर्ने रणनीतिमा सरकार छ । प्रतिपक्षी सांसदले भने यथास्थितिमा बजेट पास हुनै नदिने बताउँदै आएका छन् ।