खेलकुद

साफ च्याम्पियनसिपका लागि नेपाल राष्ट्रिय फुटबल टिमको घोषणा


काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनेसले ३ नयाँ खेलाडीलाई समेट्दै दक्षिण एसियाली फुटबल फेडेरेसन साफ च्याम्पियनसिपको आसन्न १४औं संस्करणका लागि २३ सदस्यीय नेपाल टिमको घोषणा गरेका छन् । प्रतियोगिता सुरु हुनु २ साताअघि घोषणा गरिएको टिममा डिफेण्डरहरु विमल पाण्डे र सीमान्ता थापा तथा मिडफिल्डर लाकेन लिम्बु नयाँ अनुहार हुन् । विमल त्रिभुवन आर्मी, सीमान्त जावलाखेल युथ र लाकेन थ्रीस्टार क्लबका खेलाडी हुन् ।

साफ तयारीका लागि प्रशिक्षक एनेसले १७ जेठमा ३० जना खेलाडीलाई प्रारम्भिक रणनीतिक तयारीका लागि प्रशिक्षणमा बोलाएका थिए । तीमध्येबाट आशिष गुरुङ, विक्रम लामा, एन्जल महर्जन, सुदीप गुरुङ, विशाल तामाङ, जिलेस्पीजंग कार्की र दिनेश हेन्जन गरी ७ जनालाई कटौती गरिएको हो ।

६ असारदेखि भारतको बैंगलुरुमा सुरु हुने साफ च्याम्पियनसिपमा नेपाली टिम भारत, कुवेत र पाकिस्तानसम्मिलित कठिन समूहमा परेको छ ।शहीद स्मारक ए डिभिजन लिग सन्चालनमा रहँदा बलिया विपक्षीसँग खेल्नुपर्ने नेपाल टिमले विशेष र एकीकृत तयारी गर्न पाएको छ ।

राष्ट्रिय टिमका खेलाडी रिलिज गर्न एन्फाले गरेको प्रस्ताव ए डिभिजन क्लबहरुले नमानेपछि २७ जेठमा लिग सकिएपछि मात्र राष्ट्रिय टिमले एकीकृत प्रशिक्षण गर्नेछ ।नेपाल टिमले ३२ जेठमा फिलिपिन्ससँग उसकै मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ । सोही तयारीपछि नेपाल टिम उतैबाट बैंगलुरु प्रस्थान गर्नेछ ।

समूह ए मा रहेको नेपालले ६ असारमा कुवेत, ९ असारमा आयोजक टिम भारत र १२ असारमा पाकिस्तानसँग खेल्नेछ । यसपल्ट साफ च्याम्पियनसिपमा मध्यपूर्वका लेवनान र कुवेतलाई पनि आमन्त्रण गरिएको छ । प्रतियोगिताको समूह बीमा लेवनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

नेपाल टिम

गोलरक्षकः किरणकुमार लिम्बु (कप्तान) दीप कार्की र विशाल श्रेष्ठ,डिफेण्डरः विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सीमान्त थापा,मिडफिल्डरः पुजन उपर्कोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लाकेन लिम्बु र आभास लामिछाने,फरवार्डः आयुश घलान, दीपकराज सिंह ठकुरी, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी र विमल घर्तीमगर