Breaking

गौर हत्याकाण्डविरुद्धको मुद्दा न्यायाधीश राउतको इजलासमा


काठमाडौँ – गौर हत्याकाण्डविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा सुनुवाइ गर्न आजका लागि पुनः पेसी तोकिएको छ ।

यसअघि जेठ २२ गते उक्त मुद्दाको पेसी न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिए पनि भए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । आज भने उक्त हत्याकाण्डविरुद्धको रिट निवेदनमा सुनुवाइ गर्न न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको छ ।

सशस्त्र द्वन्द्वका बेला २०६३ चैत ७ गते रौतहटको गौरमा मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीका कार्यकर्ताबीच झडप हुँदा २८ जना माओवादी कार्यकर्ता मारिएका थिए । फोरम र माओवादीले एकै स्थानमा सभा गर्न खोजेपछि दुई पक्षबीच झडप भएको थियो ।

त्यसमा मारिएकाहरूको आफन्तका तर्फबाट न्याय माग गर्दै त्रिभुवन साहले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरकाए हुन् । हत्याकाण्डविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदा पनि प्रहरीले सुनुवाइ नगरेको पीडित परिवारका तर्फबाट गत आइतबार सर्वोच्च अदालतमा मुद्दा हालिएको हो ।