काठमाडौँ — भारतले उपहार स्वरुप दिने भनिएको मुर्रा प्रजातिको राँगाको विषयलाई लिएर सोमाबरको संसद बैठकमा सवाल–जवाफ चल्यो । प्रतिपक्षहरुले यो विषयलाई प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धि भन्दै व्यङ्ग गर्न खोजेपछि सत्तापक्ष त्यसको प्रतिवादमा उत्रियो । भैसीं कालो हुन्छ । भैंसीसँग किसानको भावुक सम्बन्ध छ । भैंसीले दुध दिन्छ । कुराउनी, दही र घिउ बचेर कतिले छोराछोरी पढाएका छन् । घरजग्गा जोडेका छन् र व्यवहार धानेका छन् ।त्यसमा पनि मुर्रा जातको भैसीका विशेषता नै धेरै छन् । यसलाई भैंसीमध्येको पनि राम्रो भैसी मानिन्छ ।
यो पाठ संसदमा भैंसी बहस चर्काउने हाम्रा सांसदका लागि हो । किनकि, यति पवित्रआयस्रोत बनेको भैंसीलाई संसदले बद्नाम बनाएर हंगामा मच्चाउने काम गरेको छ । भैंसी भन्ने बित्तिकै विवादमा आउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले फेरि भैंसीकै कारण विवादित बनेका छन्।
२०६६ माघ २९ गते प्रधानमन्त्री रहेकै बेला सुनसरीको चतराधाम पुगेर प्रधानमन्त्री प्रचण्डले भैंसी पुजा गरेपछि रातारात भाइरल बनेका थिए ।झण्डै १४ बर्षअघिकोत्यो अपार सफलतापछि प्रचण्ड फेरि भैंसीकै कारण विवादित बनेका हुन् ।तर यसपटक भैंसी नभइ विषय राँगाको हो ।भारत भ्रमणका क्रममा १५ वटा मुर्रा जातको राँगा प्रधानमन्त्रीले उपहार ल्याएको विषय नेपालमा बहस बनेको छ । र प्रधानमन्त्रीले संसदमै हप्की खाएका छन् ।
प्रधानमन्त्रीले उपहार ल्याएको ‘कालो बस्तु’ भैंसी हो कि राँगा हो भन्ने विषयमै संसदको १० लाख खर्च भएको छ । किनकि एउटा बैठक सञ्चालन गर्दा झण्डै १० लाख बढी खर्च हुन्छ । आजको संसद प्राथमिकताभन्दा बाहिर गएर यही विषयमा केन्द्रीत बनेको छ । रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्री भारतबाट भैंसी चढेर फर्किएको अभिव्यक्ति दिएपछि सत्तापक्षका सांसदले होहल्ला चर्काएका छन् । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे बीचमै उठेरखनालको भनाइ संसदीय रेकर्डबाट हटाउन माग गरे । एउटा बोल्दाबोल्दै अर्काे सांसद उठेर आपत्ति जनाएको भन्दै एमाले सांसद सूर्य थापाले
सभामुख देवराज घिमिरेले भैंसी चढेर आएको भन्ने शब्द जसले बोलेको भए पनि रेकर्डबाट मेटाइने जवाफ दिए । सभामुखको निर्देशनपछि शब्द संसदको रेकर्डबाट हट्यो । सभामुखको यो निर्णयमाथि चित्त दुखाउँदै रास्वपाका सभापति रवि लामिछानेले आपत्ति जनाए । प्रधानमन्त्रीको भ्रमणपछि भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा नेपाललाई १५ वटा मुर्रा भैंसी दिएको उल्लेख थियो । यही विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड ट्रोलको शिकार पनि भएका थिए ।जसमाथि टेकेर बोल्दै प्रधानमन्त्री प्रचण्डले पनि ‘मान्छेहरुले मलाई भैंसी चढाएर हिडेका छन्’ भन्ने अभिव्यक्ति दिए । तर सभामुखले सांसदको मात्रै अभिव्यक्ति हटाएपछि विपक्षीहरु विरोधमा उत्रिएका हुन् । जसले झनै होहल्ला मच्चिएको थियो ।
किसानको आवश्यकता अनुसार नश्ल सुधारका लागि आजभन्दा पाँच बर्षअघि नै भारतसँग मुर्रा प्रजातिको राँगा माग गरिएको थियो । जतिबेला एमाले अध्यक्ष ओली प्रधानमन्त्री थिए । अहिले प्रचण्डको पालामा आएपछि ओलीले पनि भारत भ्रमणको उपलब्धी भन्दै उछितो काढ्ने काम गरेका छन् ।
नेपालमा नभएका कुकुरको प्रजाति ल्याएर जसरीब्रिड गरिन्छ । त्यसरी नै धेरै सम्भावना देखिएको मुर्रा भैंसीको प्रजाती राँगा ल्याएर नश्ल सुधारको प्रयास सरकारले गरेको हो । जसमा भारतले १५ बटा उपहार दिने घोषणा गरेको थियो । जुन अहिले प्रधानमन्त्री प्रचण्ड भ्रमणमा गएकै बेला दिने भारत पक्का भएको छ ।
तर भैंसी नेपाल नआईपुग्दै सामाजिक सञ्जालदेखि संसदमै प्रधानमन्त्रीले भारतबाट भैंसी ल्याएर फर्किएको भन्दै विवादसहितको बहस छेडिएको छ ।राँगालाई भैंसी भनेर प्रचार गरेको भन्दैं कृषि मन्त्रालयले विज्ञप्ती निकालेर खण्डन नै गरेको छ ।तर सत्तापक्ष र प्रतिपक्षबीच सामान्य विषयमा असमान्य जुहारी चलेपछि संसदको प्राथमिकतामाथि नै प्रश्न उठेको छ ।
प्रतिक्रिया