Breaking

विपक्षी दलहरुले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित


काठमाडौँ – विपक्षी दलहरुले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत दलले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।

आइतबार संसदको बैठक सुरु भए लगतै प्रतिपक्षी दलका सांसदहरु उठेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले समय दिएपछि एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया गलत भएको भन्दै विरोध गरे ।

सभामुख घिमिरेले यथास्थानमा बसेर बैठक सन्चालनमा सहयोग गर्न आग्रह गर्दा पनि प्रतिपक्षी दलका सांसदहरुले बैठकमा नाराबाजी गरेका थिए । त्यसपछि सभामुख घिमिरेले एक घण्टाका लागि बैठक स्थगित भएको जानकारी गराए ।