विदेश

भारतमा रेल दुर्घटनाः २ सय ६१ भन्दा बढीको मृत्यु, रेलमन्त्रीको राजीनामा माग


काठमाडौँ — भारतको ओडिसामा रेल दुर्घटना हुँदा कम्तीमा २ सय ६१ भन्दा बढीको मृत्यु भएको छ । ओडिसाको बालासोरनजिक भएको उक्त दुर्घटनामा परी एक हजार जनाभन्दा बढी घाइते भएकोे छ । घटना शुक्रबार राति भएको थियो । भारतको ओडिशाको बालासोरमा भएको दर्दनाक दुर्घटनाले सबैलाई असह्य बनाएको छ । ओडिसाको बालासोरनजिक भएको उक्त दुर्घटनामा परी एक हजार भन्दा बढी घाइते भएकोे छ । घटना शुक्रबार राति भएको थियो । उक्त घटना भारतमा भएका प्रमुख रेल दुर्घटनामध्येको एक भएको हो । स्थानीय अधिकारीहरूले मृतकको सङ्ख्या अझ बढ्न सक्ने बताएका छन् ।

भारतीय रेलवेका प्रवक्ता अमिताभ शर्माले यस रुटमा आर्मर सिस्टम उपलब्ध नभएकाले सम्भावित दुर्घटनाबाट बचाउन नसकिएको बताएका छन् । घटना शालिमार–चेन्नई कोरोमण्डल एक्सप्रेसका धेरै डिब्बाहरू भारतीय समयअनुसार शुक्रवार साँझ ७ बजे पटरीबाट बाहिर खसेका थिए । तीमध्ये केही विपरीत ट्र्याकमा पुगेका थिए भन्ने अनुमान गरिएको छ । अर्को रेल हावडा सुपरफास्ट एक्सप्रेस यशवन्तपुरबाट हावडा जाँदै थियो र त्यो पल्टिएका डिब्बामा ठोक्किन पुग्यो ।

भारतीय अधिकारीहरूका अनुसार घटनास्थलमा रोकिएको अवस्थामा भएको अर्को सामानवाहक रेलमा पनि ती दुई रेलका डिब्बाहरू ठोकिन पुगेको बताएका छन । रेल दुर्घटनापछि सत्तारुढ र विपक्षी दलका नेताहरुबाट प्रतिक्रिया आइरहेका छन् । विपक्षी दलका केही नेताले दुर्घटनापछि रेलमन्त्रीको राजीनामा समेत माग गरेका छन् । मोदी सरकारले जनतालाई भ्रममा पार्न र आफ्नो राजनीतिक महत्वाकांक्षा पूरा गर्न वन्दे भारत ट्रेन र नयाँ स्टेशनहरूको कुरा गरेको तर सुरक्षाको बारेमा केही नगरेको उनीहरुको आरोप छ ।

महाराष्ट्रका पूर्व उपमुख्यमन्त्री तथा एनसीपी नेता अजित पवारले घटनाप्रति दुःख व्यक्त गरेका छन् । अजित पवारले भने, – ‘यो दुर्भाग्यपूर्ण घटना हो । यसबारे रेलवे विभागले छानबिन गर्नुपर्छ । दोषीमाथि छानबिन हुनुपर्छ । रेलवेले जनताको जीवनको मूल्य बुझ्नुपर्छ ।’ यसअघि यस्ता रेल दुर्घटना हुँदा रेलमन्त्रीले राजीनामा दिने गर्थे तर अहिले कोही अगाडि आउन तयार छैनन् । तर घटनास्थलमा रेलमन्त्री अश्विनी वैष्णवलाई यसबारे सोध्दा उनले भने, ‘म भन्छु कि पहिलो फोकस जीवन बचाउन र राहत कार्यमा हुनुपर्छ ।’ भारतमा विश्वको सबैभन्दा ठूलो रेल नेटवर्क छ । क्रमशः सरकारले पूर्वाधार सुधार गर्न अर्बौँ लगानी गरिरहेको छ । तर भारतमा रेल दुर्घटनाहरू निरन्तर बढिरहेको छ ।