काठमाडौँ — नक्कली शरणार्थी प्रकरणमा एक साताभित्र १५ जना प्रतिवादीको बयान लिएको छ । बिहीबार पूर्वउपपधानमन्त्री तथा एमाले सचिव रायमाझीसहित आङ टावा र समसेर मियाँको बयान लिइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीको बयानलिने क्रम अझै जारी छ । काठमाडौं जिल्ला अदालतमा जेठ १२ गते देखि सुरु भएको बयान लिने क्रममा बिहीबार सम्म १५ जना प्रतिवादीको बयान लिइएको छ ।
बिहीबार जिल्ला न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री टोप बहादुर रायमाझी, पूर्व सांसद् आंङटावा शेर्पा र हज समितिका अध्यक्ष समशेर मियाँको बयान लिइएको छ । त्यस्तै, प्रहरीलाई सरकारी वकिल कार्यालयले बयानमा मुछिएका अन्यको पनि अनुसन्धान गर्न निर्देशन दिएको छ । सर्वत्र चासो रहेको यस प्रकरणमा देशकै अस्मिता निहुर्याउने भ्रष्टाचार मुद्धामा ठूला नाम मुछिएपछि मुद्धा प्रभावित भए वा हुन खोज देशमा आन्दोलन हुने सत्तापक्ष नेताको भनाई छ ।
सडकदेखि सदनसम्म नै नक्कली भुटानी शरणार्थीको बहस हुँदै गर्दा विभिन्न आयोग बनाएर पूरानै फाइल खोल्नु पर्ने आवाज पनि उठिरहेको छ । तर, वर्तमानमा आफुले गरेको गल्ती लुकाउनका लागि विगतमा अर्काले गरेको गल्तीलाई देखाउनु अड्को थाप्ने कुचेष्ठा भएको विज्ञको सुझाव छ । देशकै नागरिकलाई शरणार्थी बनाएर विदेश पाउने काममा संलग्न रहेका देशद्रोहीहरुलाई जस्तो सुकै प्रभाव र दवावमा पनि छोड्न नहुने र बाहिर आएको घटनालाई सल्टाइ हाल्नु पर्ने पूर्वगृह सचिव बताउँछन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोप बहादुर रायमाझी तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १८ जना पक्राउ परेका छन् । त्यस्तै, प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका प्रतिवादी हरि भक्त महर्जन बिहीबार आफै जिल्ला अदालतमा हाजिर भए ।
अदालतमा उपस्थित हुन आएका महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने प्रहरीले अदालतबाट अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिएर महर्जन विरुद्ध आवश्यक कारवाही प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ । अब हिरासतमा रहेका १८ जना मध्ये अदालतमा बयान दिन हरि भक्तसहित पूर्वगृहमन्त्री बालकृष्ण खाँण, र शरणार्थी नेता टेकनाथ रिजाल बाँकी छन् ।
केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन, टंककुमार गुरुङ, सन्देश शर्मा, इन्द्रजित राई, नरेन्द्र केसी,गोविन्द चौधरी, टेकनारायण पाण्डे, सानु भण्डारी र रामशरण केसीको बयान लिने कामयस अघि नै सम्पन्न भइसकेको छ । उक्त प्रकरणका आरोपित मध्ये तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र तत्कालीन सल्लाहकार इन्द्रजित राईका छोरा निरजसहित १२ जना अझै प्रहरीको फरार सूचीमा छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा परेको छ ।
प्रतिक्रिया