Breaking

भाडाकै भवनमा सांसद, लथालिंग सिंहदरबारको निर्माणधिन भवन, मन्त्रीदेखि सभामुखको छड्के निरीक्षण

योहो संवाददाता

काठमाडौँ — सिंहदरबार भित्रै भएको प्रतिनिधिसभा भवन पुरानो र सानो भएपछि लामो समयदेखि संसद बैठक बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा बस्दै आइरहेको छ । त्यहि समस्याको समाधानका लागि भन्दै सिंहदरबारभित्रको पुतली बगैचामा १७३ रोपनी क्षेत्रफलमा संसद भवन निर्माण भइरहेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते शिलान्यास गरेसँगै सुरु भएको निर्माण कार्य सुस्त गतिमा अघि बढिरहेको छ ।

सिंहदरबारस्थित निर्माणाधिन संसद भवनका लागि सरकारले भुक्तानी गर्न कुनै आनाकानी गरेको छैन । तर सबै भुक्तानी समयमा नै दिइरहँदासमेत निर्माण पक्षले निर्धारित समयमा काम सम्पन्न गर्ने छनक देखाएको छैन । मन्त्रालय र ठेकेदार कम्पनीले एकले अर्कोलाई दोषारोपण गर्दा भवन निर्माणको काम सुस्त गतीमा अघि बढिरहेको छ । निर्माणधिन भवनको निरीक्षण एवम् अवलोकन गर्दै सभामुख देवराज घिमिरेले निर्धारित समयभित्र काम सक्याउन निर्देशन दिएका छन् । अहिले ठेक्का प्राप्त समयको हिसावले काम कम भएको भन्दै उनले विगतका प्रतिकुलतालाई अनुकुलतामा बदलेर तोकिएको समयभित्रै काम सम्पन्न गर्नुपर्ने उनले बताएका छन् ।

अवलोकन टोलीमा सभामुख घिमिरेसहित उपसभामुख ईन्दिरा राना, सहरी विकासमन्त्री सीता गुरुङलगायत उच्च पदस्थ व्यक्तिहरु पनि सहभागी थिए । अवलोकनपछि उपसभामुख इन्दिरा रानाले सब कन्ट्याक्टर राखेर भएपनि समयमै संसद भवन निर्माण सम्पन्न हुनुपर्ने बताइन् । मुखले मिठो बोलेर भन्दापनि व्यवहारमा काम गरेर देखाउनुपर्ने भन्दै उनले सरकारले सयमा नै निर्माण सम्पन्न नगर्नेहरुमाथि एक्शन लिनुपर्ने बताइन् । यसअघि पनि निर्माणधिन संसद भवनका लागि सरकारले २ पटकसम्म म्याद थप्ने काम गर्यो । तर, निर्माणको कामले गती लिन सकेन ।

यसअघि कोरोनाले निम्त्याएको परिस्थितिलाई बहाना बनाउँदै आएको भएपनि त्यो बहानासमेत सकिएको छ । अवलोकन टोलीमा सहभागी शहरी विकासमन्त्री सीता गुरुङ पनि संसद भवन निर्माण निर्धारित समयमै सक्नुपर्ने र अब सरकारले म्याद थप्न नसकिने चेतावनी दिइन् । अब ठेक्का समय थप्न नसक्ने र आउँदो हिउँदे अधिवेशन नयाँ संसदबाट नै शुरु गर्ने सरकारको योजना रहेको उनले बताइन् । उनले निर्माणको काम सुस्त रहेको भन्दै कामलाई तिब्रता दिन निर्देशन दिए भने म्याद थप समस्याको समाधान नभएको र जनशक्ति बढाएर काम गर्न भनिन् ।

सिंहदरबार भित्रै भएको प्रतिनिधिसभा भवन पुरानो र सानो भएपछि लामो समयदेखि संसद बैठक बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा बस्दै आइरहेको छ । २०६४ साल चैतमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनदेखि नै संसद बैठक सम्मेलन केन्द्रमा सञ्चालन गरिएको छ । सिंहदरबारभित्रको पुतली बगैचामा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते शिलान्यास गरेसँगै राष्ट्रिय सभा तथा संघीय संसद् भवनको निर्माण कार्य सुरु भएको हो ।

३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष राखिएको भएपनि प्रगती सोचेअनुसार हुन नसकेपछि सभामुख, उपसभामुख र मन्त्रीले नै निरिक्षण गरेका हुन् । संघीय संसद भवन १७३ रोपनी आठ आना क्षेत्रफलमा बन्दैछ । प्रतिनिधिसभाको भवन चार सय सिट क्षमताको र राष्ट्रियसभाको भवन एक सय सिट क्षमताको बन्दै छ । संघीय संसदका आवश्यक सम्पूर्ण कार्यालयहरु एकै स्थानमा गर्ने उदेश्यले नयाँ भवन निर्माण सुरु गरिएको हो ।