Breaking

नेपालको वैदेशिक व्यापारमा प्रयोग हुनेगरी भारतीय आन्तरिक जलमार्गको बाटो खुल्यो


काठमाडौँ — नेपालको वैदेशिक व्यापारमा प्रयोग हुनेगरी भारतीय आन्तरिक जलमार्गको बाटो खुलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भएको सम्झौतापछि नेपालको वैदेशिक व्यापारमा भारतीय आन्तरिक जलमार्गको पहुँच खुलेको हो ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र भारतका वाणिज्यमन्त्री पीयुष गोयलबीच सम्झौता भएको हो । पछिल्लो २५ वर्षपछि पुनरावलोकन भएको पारवहन सन्धिबाट नेपालले भारतीय आन्तरिक जलमार्गको प्रयोग गर्न पाउने भएको हो ।

पारवहन सम्झौता पुनरावलोकन भएसँगै अब नेपालले भारतीय गंगा नदीको आन्तरिक जलमार्ग प्रयोग गर्न सक्छ । यसबाट नेपाली आयात र निर्यातकर्ताले कलकत्ताको अस्तव्यस्त अवस्था झेल्न नपर्ने भएको छ ।