Breaking

भारत र चीनमा एक–अर्को देशका पत्रकारलाई भिसा दिन रोक


काठमाडौँ – भारत र चीनले एक–अर्को देशका पत्रकारलाई भिसा दिन बन्द गरेका छन् ।

बीबीसी हिन्दीले चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्स र अमेरिकी अखबार वाल स्ट्रिट जर्नललाई उधृत गर्दै यी दुई देशले एक–अर्को देशका पत्रकारलाई भिसा दिन बन्द गरेको उल्लेख गरेको छ । चिनियाँ अखबार ग्लोबल टाइम्सले भारतले चिनियाँ पत्रकारलाई भिसा दिन रोक लगाउनु ‘खतरनाक प्रवृत्ति’ भन्दै यसले दुई देशबीचको सम्बन्धलाई थप जटिल बनाउने उल्लेख गरेको छ ।

वाल स्ट्रिट जर्नलले आफ्नो रिपोर्टमा यसै महिना भारतले चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वा र चाइना सेन्ट्रल टेलिभिजनका दुई पत्रकारलाई भिसा नदिएको उल्लेख गरेको बीबीसी हिन्दीले जनाएको छ । यो रिर्पोटमा भारत र चीनले एक–अर्को देशमा पत्रकारको पहुँचलाई लगभग समाप्त पारिदिएको दाबी गरिएको छ ।

यस्तै उक्त रिपोर्टमा चीनमा रहेका चार भारतीय सञ्चारमाध्यमका पत्रकारमध्ये यसै वर्षको सुरुवातमा दुई भारतीय सञ्चारमाध्यमका पत्रकारको भिसा चीनले नथपेको उल्लेख छ । बाँकी दुई पत्रकारको भिसा थप्ने विषयमासमेत चीनले भारतले चाल्ने कदममा भर पर्ने जवाफ दिएको रिपोर्टमा जनाइएको छ । चीनले भारतमा रहेका चिनियाँ पत्रकार भेदभावपूर्ण र अनुचित रवैयाको शिकार बनेको र कुनै समय चीनका १४ पत्रकार भारतमा कार्यरत रहेकोमा अब एक जना मात्रै रहेको उल्लेख गरेको छ ।

सन् २०२० पछि भारतले चिनियाँ पत्रकारका लागि लामो अवधिको भिसा जारी गरेको छैन । सन् २०२१ को डिसेम्बरमा भारतले दुई महिना भिसा अवधि रहेका चिनियाँ पत्रकारहरुलाई फिर्ता पठाइदिएको थियो ।