काठमाडौँ — सार्वजनिक लेखा समितिमा अहिलेसम्म १२१ वटा उजुरी परेका छन् । यस्तै लेखा समितिले बैठक सञ्चालन सम्बन्धी आन्तरिक कार्यविधिको मस्यौदा बनाउन ५ सदस्यीय उपसमिति बनाएको छ । बैठकमा सहभागी सांसदहरुले सार्वजनिक लेखा समितिले सरकारले गर्ने आर्थिक क्रियाकलापलाई नजिकबाट हेर्ने भएकाले समितिप्रति जनताको भरोसा रहेको टिप्पणी गरेका छन् । बुधबार बसेको सार्वजनिक लेखा समितिमा अहिलेसम्म १२१ वटा उजुरी परेका छन् ।
सिंहदरबारमा बसेको संघीय संसद् अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमासमितिका ज्येष्ठ सदस्य सभापति अर्जुननरसिंह केसीले समितिमा १२१ वटा उजुरी परेको जानकारी गराएका हुन् ।समितिले जुनसुकै विचाराधीन पुराना फाइल खोलेर त्यसमाथि अनुसन्धान अघि बढाउन सक्ने उनले बताए । समितिमा हालसम्म परेका नयाँ र पुराना उजुरीमाथि समितिका सांसदहरुले अध्ययन गर्नसक्ने उनले बताए ।
बुधबार बसेको सार्वजनिक लेखा समितिले बैठक सञ्चालन सम्बन्धी आन्तरिक कार्यविधिको मस्यौदा बनाउन ५ सदस्यीय उपसमितिसमेत बनाएको छ । नेपाली काँग्रेसका सांसद राजन केसीको संयोजकत्वमा उपसमिति बनाएको हो । समिति बैठकपछि समिति सचिव एकराम गिरीले बैठक सञ्चालन सम्बन्धी आन्तरिक कार्यविधिको मस्यौदा बनाउन सांसद केसीको संयोजकत्वमा सांसदहरु ऋषीकेश पोखरेल, अमरेशकुमार सिंह, हरि ढकाल र रामकृष्ण यादव सदस्यगरी पाँच जनाको उप–समिति बनाएको जानकारी दिए । बैठकमा नेकपा एमालेका सचिव तथा सांसद योगेशकुमार भट्टराईले सार्वजनिक लेखा समितिले सरकारले गर्ने आर्थिक क्रियाकलापलाई नजिकबाट हेर्ने भएकाले समितिप्रति जनताको भरोसा रहेको बताए ।
बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले सबै सरकारी निकायहरुप्रति जनताको विश्वास गुमेको अवस्था रहेको बताए । उनले लेखा समितिले जनतामा गुम्न लागेको विश्वास दिलाउने काम गर्न आवश्यक रहेको भन्दैसबैले थाहा पाउने गरी बेरुजु लगायतका विषयमा कारबाही गर्नुपर्ने बताए । अर्का सांसद गोकुलप्रसाद बाँस्कोटाले समितिको बैठक कुनैपनि विषयवस्तु बिना बस्नु ठिक नभएको बताए ।
समितिमा हुने छलफलका विषयमा सांसदहरुलाई अगाडि नै जानकारी दिएर मात्रै बैठक बस्नुपर्ने भन्दै उनले संसद नभएको समयमा सांसदहरु निर्वाचन क्षेत्र तथा पार्टीको काममा उपत्यका भन्दा बाहिर जानसक्ने विषयमा पनि ख्याल गर्न आवश्यक रहेको बताए । समिति बैठकमा सांसदहरुले पार्टीको हुइप भन्दा पनि सत्यतथ्य कुरा निर्धक्क भएर राख्न सक्नुपर्नेमा जोड दिएका थिए ।


प्रतिक्रिया