Breaking

गणतन्त्र दिवसमा बालेन अनुपस्थित, नेतृत्वको गल्तीले व्यवस्था नै दुर्गन्धित

योहो संवाददाता

काठमाडौँ — नेपालमा गणतन्त्र आएको १ट वर्ष भयो । तर आम नागरिकले गणत्त्रको अनुभुति गर्न भने पाएका छैनन् । अझ भनौँ गणतन्त्र स्थापना भएको साढे १ दशक पार गर्दासमेत आम नागरिकको जीवनस्तर सुधार हुन सकेको छैन । आज जेठ १५ अर्थात् गणतन्त्र स्थापना भएको दिन । राज्यको सम्पूर्ण शक्ति जनतामा निहीत हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको १६औँ बसन्तसम्म आइपुग्दा आज सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम गरी गणतन्त्र दिवस मनाइएको छ । १९ दिने जनआन्दोलन हुँदै निर्वाचित संविधानसभाको बाटो भएर आएको गणतान्त्रिक व्यवस्था लागू भएको १६ वर्ष पूरा भएको छ ।

नेपालमा २ सय ४० वर्षदेखि चलिआएको राजतन्त्रात्मक शासकीय परम्पराको अन्त्य गर्दै देशको शासनसत्ताको साँचो नागरिकको हातमा सुम्पिएको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत संवैधानिक तथा कुटनीतिक निकायका प्रमुखहरूसहभागी थिए । गणतन्त्र दिवसको मूल आयोजक समितिको सदस्यमा नै काठमाडौँ महानगरपालिकाका मेयर हुने भए पनि यसपटकको गणतन्त्र दिवसमा भने महानगरकाका मेयर बालेन्द्र साह र उपमेयर सुनीता डंगोल अनुपस्थित रहे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रविरुद्ध वितृष्णा छर्ने प्रयासहरु कदापी सफल नहुने बताए ।

प्रधानमन्त्रीले गणतन्त्रविरुद्ध वितृष्णा छर्ने प्रयासहरु कदापी सफल नहुने बताइरहँदा आम नागरिक भने यो व्यवस्थाबाट पनि खास्सै सन्तुष्ट देखिँदैनन् । देशमा गणतन्त्र स्थापनासँगै आमनागरिक र नेतृत्वबीचको जुन दूरी हुन्थ्यो त्यो घट्ने अपेक्षा गरिएको थियो । तर, राजा÷महाराजालाई फालेर उनैको सिको गर्न थालेका राजनीतिक नेतृत्वले गर्दा व्यवस्था नै गलत हो कि भन्ने भान नागरिकलाई परेको छ । धेरै ठूलो बलिदान र त्यागले ल्याएको व्यवस्थामा पनि जनता सत्तामा बसेकाको कामबाट सन्तुष्ट हुन सकेका छैनन् । नेतृत्वको गल्तीले गर्दा व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको छ ।

गणतन्त्रपछिका सरकारहरु जनमुखी काममा लाग्नेछन्, भ्रष्टाचार हट्नेछ, मुलुक आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्नेछ, पसिना बगाउन विदेशिनुपर्ने छैन, यही भरोसाका साथ आमनागरिक जनआन्दोलनमा सहभागी भएका थिए। तर, हालको ताजा अवस्था भने यसको ठ्याक्कै उल्टो छ । नेताहरूको सुविधाभोगी प्रवृत्ति झन्झन् बढ्दो छ। गरिबी र महँगी बढ्दो छ। शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, रोजगारजस्ता आधारभूत आवश्यकता परिपूर्तितर्फ तीनवटै सरकार केन्द्रित हुन सकेको छैन ।राजनीतिक र प्रशासनिक परिवर्तनले मुलुकमा गणतन्त्र स्थापना भएको केही छनक पाइए पनि व्यवहार, सोच, शैली र भुइँमान्छेको जीवनस्तरमा १६ वर्षको अभ्यासले तात्विक फरक परेको छैन। जसले गणतन्त्र दिवस एक औपचारिकताभन्दा माथि उठ्न सकेको छैन ।