Breaking

सगरमाथामा आरोहणको ७० वर्ष पूरा, आरोहीको समस्या सधैँ उस्तै


काठमाडौँ — विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पहिलोपटक मानवले पाइला टेकेको दिनको सम्झनामा आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ ।

सगरमाथामा मानव पाइला पुगेको ७० वर्ष भएको छ । दुई साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन साबिक आठ हजार ८४८ मिटर अग्लो (हाल ८ हजार ८४८.८६ मिटर) सगरमाथामाको चुचुरोमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको अनुपम परिचय दिएका थिए ।

सोही ऐतिहासिक घटनाको स्मरण गर्दै मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ मनाउँदै आइएको छ । सगरमाथामा मानव पाइला पुगेको उक्त घटनाले विश्वभर नै ठूलो चर्चा पायो र नेपाललाई सगरमाथाको देश भनेर संसारभर चिनायो ।

सगरमाथाको चुचुरोमा पहिलो मानव पाइला पुगेको सत्तरी वर्षको अवधिभित्र सन् २०२२ सम्ममा ७,३३८ आरोहीले सफलता चुमिसकेका छन्  । यस वर्षको मे २९ का दिन आज आरोहणको ७०औँ वर्षगाँठको अवसरमा नेपाल पर्वतारोहण संघले सोलुखुम्बु खुम्जुङ क्षेत्रमा ‘प्लाटिनम जुब्ली’ समारोह र काठमाडौँमा अन्तक्र्रिया गर्दै छ ।

आरोहण पर्मिट लिएर सफलता हासिल गर्न नसकेका आरोही १,३१० जना रहेको बुझिन्छ । यस्तै, आरोहणपछि र अघि ज्यान गुमाउनेको संख्या करिब ३१० जना रहेको अनुमान छ ।

विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये नेपालमा आठवटा छन् । तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलोपटक सफल आरोहण गरी कीर्तिमान कायम गर्दा त्यसपछिका धेरै आरोहीले फरक खालका कीर्तिमान कायम गरेका छन् ।