Breaking

उपेन्द्रसहित गौर हत्याकाण्डका अभियुक्तविरुद्ध आज सर्वोच्चमा मुद्दा हालिँदै


काठमाडौँ – गौर हत्याकाण्डका दोषीलाई कारबाही माग गर्दै पीडित परिवारले आज सर्वोच्च अदालतमा मुद्दा हाल्दै छन् ।

उक्त हत्याकाण्डमा मारिएका रौतहट बौद्धिमाई नगरपालिका–८ का नर्मदेश्वर उपाध्यायकी पत्नी रूपसागरदेवीले आफूसमेत पीडित परिवारका पाँच जनाले न्यायको माग गर्दै आज सर्वोच्च अदालतमा निवेदन दिने जनाएको छ ।

तत्कालीन मधेसी जनअधिकार फोरमका नेता उपेन्द्र यादवसहित घटनाका ‘दोषी’विरुद्ध कारबाहीको माग गरी सर्वोच्चमा मुद्दा हाल्न लागिएको रूपसागरदेवीले बताइन् ।

त्यसो त जसपा अध्यक्ष उपेन्द्र यादवदेखि बबन सिंहसम्म १ सय १३ जनाविरूद्ध प्रहरीमा कर्तव्य ज्यान मुद्दा दर्ता छ । जसलाई प्रहरीले फरारको सूचीमा राखेको छ ।

२०६३ चैत ७ गते रौतहटको गौर नगरपालिकास्थित राइस मिल मैदानमा एकै स्थानमा तत्कालीन नेकपा माओवादी र तत्कालीन फोरमले सभा गर्न लाग्दा झडप भएको थियो । जसमा परी २७ जना वाईसीएल कार्यकर्ताको मृत्यु भएको थियो भने ५३ जना गम्भीर घाइते भएका थिए ।

मृतकमध्ये रौतहटका ९, मकवानपुरका ८, बाराका ४, बाजुरा, सिन्धुली, पर्सा र दाङका एकरएक जना छन् ।