काठमाडौँ — बोलिभियाको संसदमा सांसदहरूबीच कुटाकुट भएको छ । दक्षिण अमेरिकी देश बोलिभियाको संसदमा महिला सांसदबीच लात र मुक्का प्रहार भएको छ । विपक्षी सांसदहरूले संसदभित्रै ब्यानर टाँसेर विरोध प्रदर्शन गरेपछि सत्तापक्षीय सांसद प्रतिरोधमा उत्रँदा सांसदहरुबीच कुटाकुट भएको हो । संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो । शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ । जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको संसदमा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको हुन्छ ।
निर्वाचित भएर आएका जनप्रतिनिधिले कहिलेकही संसद भवनभित्र निकै रोमाञ्चक दृश्यहरु देखाउँछन् । बोलिभियाको संसदमा पनि यस्तै दृश्य देखियो । दक्षिण अमेरिकी देश बोलिभियाको संसदमा महिला सांसदबीच कुटाकुट भएको भिडिओ नै सार्वजनिक भएको छ । केही महिला सांसदहरुले ब्यानर समेत च्यातिरहेको देखिन्छ । विपक्षी सांसदहरूले संसदभित्रै ब्यानर टाँसेर विरोध प्रदर्शन गरेपछि सत्तापक्षीय सांसद प्रतिरोधमा उत्रँदा झडप भएको थियो । संसद बैठकमा सत्तारुढ दलका मन्त्री एडुआर्डो डेल कास्टिलोले डिसेम्बरमा सान्ता क्रुज क्षेत्रका गभर्नरको गिरफ्तारीबारे प्रतिवेदन प्रस्तुत गरिरहेका बेला कुटाकुट भएको हो । विपक्षी नेताहरुले नाराबाजी गर्दै मन्त्री क्यास्टिलोको तस्बिरसहितका ब्यानरहरू प्रदर्शन गरेका थिए ।
ब्यानरमा ‘आतङ्ककारी मन्त्री’ समेत लेखिएको थियो । सत्तारुढ दलका सांसदहरूले ब्यानर च्यात्न थाले पछि करिब २० सांसद एक आपसमा भिड्न थाले । भिडियोमा केही सांसदहरूले झडप रोक्न हस्तक्षेप गरेको पनि देखिन्छ । संसदमा मन्त्री एडुआर्डो डेल कास्टिलोले गभर्नरको गिरफ्तारी कानुनी भएको जिकिर गरिरहेका थिए । उनले विपक्षी नेता लुइस फर्नान्डो कामाचोको गिरफ्तारीलाई पनि कानुनी भएको दाबी गरिरहेका थिए । जब विपक्षी सांसदहरूले हंगामा गर्न थाले, डेल क्यास्टिलोले उनीहरूलाई कट्टरपन्थी, हिंसात्मक काम गरेको प्रतिक्रिया दिएपछि विवाद बढ्दै गएको थियो ।
पछिल्लो समय यस्तो अप्रिय घटना बोलिभियामा देखिए पनि बिभिन्न समयमा धेरै देशहरुमा पटक–पटक यस्ता गतिविधि देखिँदै आएको छ । जनमतको कदर नबुझि जनप्रतिनिधि भएर सदन छिरेकाहरुबाटै अ–मर्यादित गतिविधि हुँदै जाँदा देश बासीको बिश्वास त गुम्छ नै मर्यादित सदनको गरिमा पनि आँच आउन छ ।
प्रतिक्रिया