Breaking

५ महिनापछि जुर्यो प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको साईत, सीमाना विवादबारे एमालेको प्रश्न


काठमाडौँ — तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएको पाँच महिनापछि प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको साइत जुरेको छ । यही जेठ १७ गते भारत गएर २० गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ । अन्तरदेशीय विद्युत व्यापारदेखि कालापानी, लिपुलेक, लिम्पियाधुपा लगायतका विषय के हुन्छन भन्ने आम चासो छ । तेस्रो पटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको साइत जुराउन निकै कठिन भयो । परराष्ट्रमन्त्री एनपी साउदले निकै मिहेनत गरेर प्रधानमन्त्रीको भारत भ्रमणको वातावरण मिलाएका छन् ।

यसअघि वैशाख पहिलो साता प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण हुने बताइए पनि सम्भव भएको थिएन । संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएपछि प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने छन् । प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्रीको भारतमा उठ्ने विषयप्रति आशंका व्यक्त गरेको छ । लिपुलेक, कालापानी, लिम्पियाधुराबारे के तयारी छ भन्ने एमालेको मुख्य प्रश्न छ ।

दिल्लीले कालापानी क्षेत्रलाई आफ्नो भूभागका रूपमा राख्दै नक्सा जारी गरेपछि नेपालले पनि लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेटेर आफ्नो नक्सा अद्यावधिक गरेको थियो । उक्त प्रकरणले दुई देशबीचको सम्बन्धमा चिसोपन ल्याएको थियो भने काठमाडौँ र दिल्ली बीचको सम्बन्धमा केही समय गतिरोध देखिएको थियो । नेपालले भूमि थपेर नक्सा अद्यावधिक गरे पनि व्यवहारत प्रयोगमा आउन सकेको छैन । प्रधानमन्त्री प्रचण्डल भारत भ्रमण ऐतिहासिक हुने दाबी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको क्रममा विवादित विषय उठाउने आँट कति गर्न सक्छन भन्ने आम प्रश्न छ । कुटनीतिक रुपमा पनि प्रधानमन्त्रीको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । दुई देशबीच पारस्परिक विश्वास अभिवृद्धि गर्नुपर्ने चुनौती पनि छ ।

भारतीय पक्ष विवादित विषय नेपालले नउठाओस भन्ने चाहन्छ । नेपाली जनताको आकांक्षा समस्याको दीर्घकालीन समाधान होस् भन्ने छ । विदेश नीतिमा सबै राजनीतिक दलहरू पार्टीभन्दा माथि उठ्नुपर्छ । त्यसको पहलकदमी सरकारले लिनुपर्छ । राष्ट्रिय सहमति कायम गर्दै भारत भ्रमणको एजेण्डा तय गर्ने र कुटनीतिक रुपमा दृढतापूर्वक कुरा राख्ने आँट प्रधानमन्त्री प्रचण्डले गर्नुपर्छ ।