Breaking

नागरिकतामा रविको धम्की,फेरि फसाउन खोजिँदै, किन खनिए रविमाथि नेता


काठमाडौँ — गृहमन्त्री छँदै गैर नागरिक रहेछु भनेर गुनासो पोखेका रवि फेरि एक पटक नागरिकताको निस्सा प्रमाणलाई लिएर अदालत पुग्ने भएको छन् । उनले लिएको पुन नागरिकताको प्रक्रिया नै नपुगेको भन्दै रिटकर्ता अदालत पुगेपछि उनी फेरिनिस्सासहित उपस्थित हुनुपर्ने भएका हुन् । पार्टीका सांसद ढाकाराम श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि तनावमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले फेरि अर्को मुद्दा खेप्नुपरेको छ ।

नागरिकताकै कारण गृहमन्त्रीदेखि सांसद् र पार्टी सभापति पदसमेत खोसिएकोमा लामिछाने फेरि पनि नागरिकताकै कारण अदालत पुग्नुपर्ने अवस्थामा आईपुगेका छन् । लामिछानेले नेपाली नागरिकता पुनः कायम गराउँदा अमेरिकी नागरिता त्यागेको निस्सा नबुझाएको भन्दै सर्वाेच्चमा रिट दर्ता भएपछि लामिछानेलाई नागरिकता विवादले फेरि पिरोलेको हो । गत माघ १५ गते निष्कृय रहेको नागरिकतालाई पुन सकृय गराएर उपनिर्वाचनबाट सदन छिरेका लामिछानेमाथि फेरि पनि सांसद्हरुले रोष्टमबाटै त्यही नागरिकताको प्रश्न उठाउँदा सदनमा दोहोरी नै चल्यो ।

नागरिकता विवाद खेपेर सम्मानित सर्वाेच्च अदालतले देखाएको बाटो हिडेर सदन छिरेका रवि पटक पटक एउटै विषयलाई लिएर आफूमाथि भईरहेको हमलाले आक्रोशित छन् । मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा भएको भन्दैआफूमाथि ‘इरिटेट’गर्नेले सीमा नाघेको उनको बुझाई छ । लामिछाने घण्टीलाई बजाउन मात्रै नभई घण्टीले बजाउन पनि मिल्ने भन्दै सामाजिक सञ्जालमा आफ्नो आक्रोश पोखिरहेका छन् ।

रविको भनाईमा काउण्टर दिँदै पार्टीको चुनाव चिह्न घण्टी राख्दैमा घण्टीले रविलाई मात्रै नचिन्ने सर्वाेच्चमा रिट दर्ता गराएका युवराज पौडेल‘सफल’को अधिव्यक्ति छ । जिल्ला प्रशासन कार्यालयमा बुझाउनु पर्ने निस्सा सम्बन्धित ठाउँमा नबुझाएर पहिलो गल्ती गरेका रविले सर्वाेच्चमा पनि निस्सा नबुझाएको सफल बताउँछन् । रविले लगातार नियोजित रुपमा नै अपराधा गरिरहेकाले चितवनमा तेस्रो पटक पनि चुनाव हुने दावी सफलको छ ।

सर्वाेच्चले रविको नागरिकता पुनप्र्राप्तिको विषयलाई लिएर अध्यागमन र जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्र लेखी प्रमाणित निस्सा उपलब्ध गराउन आग्रह गरेको थियो । उता अध्यागमनले भने प्रमाणित निस्साका सम्बन्धमा जेठ १ मै पत्र लेख्दै सक्कल फाइल सर्वाेच्चलाई नै बुझाएको र फिर्ता नआएको जानकारी गराएको छ भने प्रशासनले सर्वाेच्चलाई पत्र लेख्दै राहदानी त्यागसम्बन्धी निस्सा आफ्नो कार्यालयसँग सम्बन्धित नरहेको जवाफ दिएको छ ।

यसैमा विरोधाभाष भएपछि रविले भने बल्ल अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा आफूसँग भएकाले मिति २०८०–०२–०९ मा सर्वाेच्च अदालतमा बुझाइसकेको उल्लेख गरेका छन् । चर्चित माथि प्रहार गरेर माथि आउन खोज्नेहरु धेरै हुने भएकोले रविको मुद्दालाई पनि स्वभाविक मान्नु पर्ने अधिवक्ताहरु बताउँछन् ।

यसरी आफ्नो नागरिकताको निस्सा अदालतमा बुझाएका रविले नेपाली नागरिकता पुनः कायम गराउँदै ताका प्रमुख जिल्ला अधिकारीलाई बुझाएका थिए भने, मुद्दाले अर्कै रुप लिने थियो होला । तर, तत्कालिन समयमा नै सम्बन्धित निकायमा नबुझाएर अहिले अदातलमा बुझाएको उल्लेख गरेका उनको मुद्दा अदालतमा पुगिसकेपछि १७ गते अदालतबाट आउने निर्णय नै शिरोधार्य गर्र्ने भन्दा अन्य उपाय नरहने देखिन्छ ।