Breaking

लखनउ पराजित गर्दै मुम्बई इन्डियन्स आईपीएल क्वालिफायर टु मा प्रवेश


काठमाडौँ – आकाश माडवालले सानदार बलिङ गर्दै पाँच विकेट लिएपछि लखनउ सुपर जायनट्सलाई ८१ रनले पराजित गर्दै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को क्वालिफायर टु मा प्रवेश गरेको छ ।

बुधबार चेन्नाइमा भएको खेलमा मुम्बइले दिएको १८३ रनको लक्ष्य पछ्याएको लखनउ आकाशको घातक बिङपछि १६.३ ओभरमै १०१ रनमा अलआउट भयो । आकाश माडवालले ३.३ ओभरमा पाँच रन मात्र खर्चेर पाँच विकेट लिए । क्रिस जोर्डन र पियुष चावलाले समान एक विकेट लिए । लखनउका लागि मार्कुस स्टोइनिसले २७ बलमा सर्वाधिक ४० रन बनाउँदा कायल मेयर्सले १८ र दिपक हुडाले १५ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बइले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८२ रन बनाएको थियो । मुम्बइका लागि क्यामरुन ग्रीनले २३ बलमा सर्वाधिक ४१ रन बनाए । सूर्यकुमार यादवले २० बलमा ३३ रन जोड्दा तिलक बर्माले २२ बलमा २६ रन बनाए । पहिलो इनिङ्समै इम्प्याक्ट प्लेअरको रुपमा आएका नेहाल वाडेराले आक्रमक ब्याटिङ गर्दै १२ बलमा २ चौका र २ छक्का प्रहार गरी २३ रन जोडे ।

लखनउका लागि नवीन उल हकले ४ र यश ठाकुरले तीन विकेट लिए । चार ओभर बलिङ गर्दा नवीन उलहकले ३८ र यश ठाकुरले ३४ रन खर्चिए । मुम्बइले अब फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित गुजरात टाइटन्ससँग खेल्नेछ । लिगमा पहिलो स्थानमा रहेको साविक विजेता गुजरात पहिलो क्वालिफायरमा चेन्नाइ सुपर किंग्ससँग १५ रनले पराजित भएको थियो ।

लिगमा शीर्ष दुईमा रहेकोले गुजरातले फाइनल पुग्नका लागि अर्को अवसर पनि पाएको छ । गुजरातले दोस्रो क्वालिफायरमा मुम्बइसँग आउने शुक्रबार घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा खेल्नेछ । यस खेलको विजेताले आगामी आइतबार सोही स्टेडियममा उपाधिका लागि चेन्नाइसँग प्रतिस्पर्धा गर्नेछ ।