काठमाडौँ — राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदनसार्वजनिक भए पनि दुई महिना बितिसक्दा समेत जातजाति, भाषा र धर्मसँग सम्बन्धित तथ्याङ्क सार्वजनिक हुन सकेको छैन । जनगणनाको मुख्य अवयव नै भएका यस्ता सूचांकको तथ्यांक सार्वजनिक नहुँदा विभिन्न अड्कलबाजी हुन थालेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना २०७८ को नतिजा गत चैत्र १० गते प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सार्वजनिक गर्याे । कार्यालयले राष्ट्रियस्तर, प्रदेश, जिल्ला,स्थानीय हुँदै कतिपय वडास्तरका लगभग १०० वटा सूचकको तथ्यांक सार्वजनिक गरिसकेको छ । तर, जनगणनाको मुख्य अवयव मानिने भाषा, धर्म र जातजातिसँग सम्बन्धित तथ्यांक भने अझै सार्वजनिक गर्न सकेको छैन । सबै नागरिकको आ–आफ्नै प्रतिष्ठा र विशेष चासोको विषय हुने यस्ता तथ्यांक नआउँदा जनगणनाको नतीजा अपुरो बनेको छ ।
धार्मिक तथ्यांकप्रति आम नागरिक देखि नेता र विदेशीको समेत चासो बढ्दै जाँदा तथ्यांक सार्वजनिक गर्न नसकेको तथ्यांक कार्यालय आलोचित बनेको छ । नेपालले परापूर्वक कालदेखि मान्दै आएको सनातन ओमकार परिवार भन्दा कुनै अन्य धर्मावलम्बीको संख्या ह्वात्तै बढेका कारण कसैको निर्देशन वा दवावमा नै तथ्यांक सार्वजनिक हुन नसकेको विश्लेषण भइरहेको छ । पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले विज्ञप्ति निकालेर जनगणनामा सनातन धर्मालम्बीको संख्या घटेको र धर्म परिवर्तनको सुनियोजित काम भइरहेको भनी यस विरुद्ध संघर्षको आह्वान नै गरेका छन् ।
तथ्यांक सार्वजनिक नगर्दा आलोचित बनेको कार्यालय केही दिनमा धर्मको तथ्यांक सार्वजनिक गर्ने तयारीमा रहेको भए पनि केही घटबढ रहेको कार्यालय आफै पनि स्वीकार्र्छ । बहुजातीय, बहुभाषिक र बहु धार्मिक’ यी शब्द नेपालीहरुले गर्व गर्ने शब्दका रुपमा चरितार्थ हुने गरेको छ । यी शब्दहरुले नेपालीपनको विविधता त झल्काएको छ । तर,कहिले काही यिनै शब्द देशका लागि घातक पनि हुने गरेको छ ।
हालसालैको कोशी प्रदेशमा भएको घटनाले पनि जात, भाषा र धर्मले द्वन्द्व निम्त्याउने सत्यलाई प्रमाणित गर्छ । तर, तथ्यांक कार्यालयले थप विश्लेषणको आवश्यकता देखाउँदै परिणाम सार्वजनिक गर्न लम्ब्याईरहेको अवस्थामा सरकारकै नेतृत्व गरिरहेको माओवादी पार्टीका नेता भने कुनै रोक्ने कारण नभएको र यथाशीघ्र सार्वजनिक गर्नु पर्ने बताउँछन् । जातजाती, भाषाभाषीसँगै धर्मको प्रतिवेदन नआउनुमा थप अध्ययनको जरुरी भएको कार्यालयले बताउने गरेको छ । थरलाई नै जातजाती र ठाउँ विशेष अनुसार नै भाषालाई कायमा गर्नुपर्ने ८०÷९० वटा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
विशेषज्ञहरुसँग सल्लाहा गर्नु पर्ने उनीहरुको तर्क छ । त्यस्तै धर्मका नाममा राजनीति गर्दै आएकाको भने ओमकार परिवारकै नागरिक पनि आफूहरुलाई परम्परागत हिन्दु बौद्धमार्गी भन्नुभन्दा छुट्टै धर्मावलम्बी भएको रुचाउनका कारण पनि केही घटेको हुन सक्ने तर्क छ ।धर्मको तथ्यांक सार्वजनिक गर्न नसक्दा यसमा टिकाटिप्पणी र विभिन्न तर्क, विश्लेषण गर्न दिने छुट तथ्यांक कार्यालय आफैले दिएको छ ।
आफ्नो स्वार्थ र फाईदाका लागि समाजमा वास्तविकतालाई गुमराह गर्ने र अफवाह फैलाउने काम भईरहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले यसलाई विशेष ध्यानमा राख्दै आम मानिसको मनमा उठेका अनेक सावलको पूर्वनिर्धारित समयमा नै तथ्यांक सार्वजनिक गरेर दिन जरुरी भईसकेको छ ।


प्रतिक्रिया