काठमाडौँ — पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतासँगै राजनीतिक दलका नेताहरू सशंकित बनेका छन् । हालै भारत भ्रमण सकेर फर्किएका पूर्वराजा ज्ञानेन्द्रले नक्कली भुटानी शरणार्थी प्रकरणसहित समसामयिक विषयमा मुख खोलेका छन् । पूर्वराजाको पछिल्ला गतिविधि र अभिव्यक्तिबाट राजावादीहरू हौसिएका छन् भने गणतन्त्रवादी दलका नेताहरुरूले चलखेलको रुपमा बुझेका छन् ।
राजनीतिक दलका नेताहरुप्रति जनताका वितृष्णा बढ्दै जाँदा पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता बढेको छ । देशका विभिन्न स्थानमा आयोजित नागरिक अभिनन्दनमा मात्रै होइन, ज्ञानेन्द्रले छिमेकी देश भारतको समेत भ्रमण गरेका छन् । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । योगी यस्ता भारतीय नेता हुन्, जसले नेपालमा राजसंस्था चाहिने आवाज उठाउँदै आएका छन् । नागरिकको हैसियतमा पुगेपछि विज्ञप्तिमा सीमित पूर्वराजा ज्ञानेन्द्र हाल नागरिक अभिनन्दन, महत्वपूर्ण भेटवार्तामा व्यस्त हुने गरेका छन् भने राजनीतिक अभिव्यक्ति पनि दिन थालेका छन् ।
सामाजिक र धार्मिक गतिविधिका नाममा पूर्वराजा ज्ञानेन्द्रको देश दौडाहमा छन् । पूर्वराजाको गतिविधिलाई सत्तामा रहेका र प्रमुख प्रतिपक्षमा रहेका दलहरुले स्वाभाविक मानेका छैनन् । पूर्वराजाको अभिव्यक्ति तथा देशभित्र र बाहिरको भ्रमणप्रति उनीहरूले आपत्ति मात्रै जनाएका छैनन्, सार्वजनिक रुपमै चेतावनी दिन थालेका छन् ।
केही समयअघि प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपीशर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्रलाई सार्वजनिक रुपमै चुनौती दिएका थिए । पूर्वराजा र उनको परिवारको सम्लग्नतामा आफुमाथि पूर्व भ्रमणको क्रममा आक्रमण भएको ओलीको दाबी थियो । एमाले सांसद रघुजी पन्त तेस्रो पटक राजा हुने सपना नदेख्न चेतावनी दिन्छन ।
कांग्रेसले पनि पूर्वराजाको गतिविधि र अभिव्यक्तिलाई अस्वभाविक मानेको छ । यद्यपि, पूर्वराजाको गतिविधि र अभिव्यक्तिले सुशासन र समृद्धिको यात्रामा चुनौती नहुने कांग्रेसको बुझाइ छ । विश्वका कतिपय देशमा गणतन्त्र पछि पनि राजतन्त्र फर्किएको इतिहास छ । नेपालमा पनि छोटो–छोटा अवधिमा व्यवस्था परिवर्तन हुँदै आएको छ । त्यही इतिहास पढेर राजावादीहरू हौसिएका छन् ।


प्रतिक्रिया