Breaking

सरकारसँग जलनका विरामीहरूलाई पनि क्यान्सर रोग सरह नै आर्थिक सहयोग गर्न सांसद भण्डारीको माग


काठमाडौँ — नेपाली काँग्रेसका सांसद डा. चन्द्र भण्डारीले जलनका विरामीहरूलाई पनि क्यान्सर रोग सरह नै आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । खाना पकाउने ग्याँसको जलनबाट पीडित भएपछि पहिलो पटक बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले यस्तो माग गरेका हुन् । गरिब मानिस नै यसको बढी मारमा पार्ने भएकाले उनीहरूलाई पनि क्यान्सर, मुटु र किड्नी रोगीलाई जस्तै आर्थिक सहायता राज्यले उपलब्ध गराउनुपर्ने उनको तर्क थियो ।

सांसद भण्डारीले ग्यास र बिजुली जस्ता विषयवस्तु विद्यालय तहकै पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।
ग्यास बाल्दा, बिजुली बाल्दा, बाटो काट्दा कसरी गर्ने भनेर सात वर्षको बच्चाले थाहा पाउनेगरी पाठ्यक्रममा राखिनुपर्ने उनको भनाइ थियो । उनले आफू शौभाग्यबस बाँचेर संसदमा बोल्ने अवसर पाएको उल्लेख गर्दै नेपालका चिकित्सक र स्वास्थ्यकर्मीहरु विश्वका कुनै पनि चिकित्सकहरू भन्दा कम नभएको पनि बताए ।

उनले नेपालमा जलन अस्पताल सरकारले स्थापना गरे त्यो एशियाकै सवल हुने दावी समेत गरे । सांसद भण्डारीले कीर्तिपुर वर्न अस्पताल र सुष्मा मेमोरियल अस्पतालको भवन बनाउन पनि सरकारको ध्यानाकर्षण गराए । ग्यासमा स्वचालित रेगुलेटर राख्नुपर्ने व्यवस्था अनिवार्य हुने गरी कानुन निर्माण गर्न पनि सरकारलाई उनले सचेत गराए ।