Breaking

गुजरातलाई हराउँदै चेन्नाइ फाइनलमा


काठमाडौँ – डिफेण्डिङ च्याम्पियन गुजरात टाइटन्सलाई पराजित गर्दै चेन्नाइ सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को फाइनलमा प्रवेश गरेको छ ।
घरेलु मैदानमा मंगलबार राति भएको पहिलो क्वालिफायर रविन्द्र जडेजाको अलराउण्ड प्रदर्शनमा चेन्नाइले गुजरातलाई १७ रनले हरायो । लिग चरणमा गुजरात शीर्ष स्थानमा रहँदा चेन्नाइ दोस्रो स्थानमा थियो ।

चेन्नाइ अब उपाधिबाट एक जित मात्र टाढा छ । गुजरातले भने फाइनल प्रवेशका लागि अर्को अवसर पाउनेछ । लखनउ सुपर जायन्ट्स र मुम्बई इन्डियन्सबीच हुने एलिमिनेटरको विजेतासँग गुजरातले फाइनल प्रवेशका लागि खेल्नेछ ।

घरेलु मैदान एमए चिदम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाइले ७ विकेट गुमाएर १७२ रन बनाएको थियो । ओपनर रुतुराज गाएकवाडले ४४ बलमा सर्वाधिक ६० रन बनाए । डेभोन कनवेले ४० रन जोडे । जडेजाले १६ बलमा २२ रन जोडे ।

अविन्का रहाने र अम्बाते राएडुले समान १७ रन बनाए ।

गुजरातका मोहम्मद शामी र मोहित शर्माले २-२ तथा दर्शन नाल खण्डे, रासिद खान र नुर अहमदले समान १ विकेट लिए ।

१७३ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा सबै १० विकेट गुमाएर १५७ रन बनाए । गुजरातका लागि शुभमन गिलले ३८ बलमा सर्वाधिक ४२ रन बनाए । रासिद खानले १६ बलमा ३० रन जोडे । दसुन सनाकाले १७ रन बनाए । गुजरातले अतिरिक्तबाट १५ रन जोडेको थियो ।

गुजरातलाई अलआउट गर्न चेन्नाइका जडेजाले ४ ओभरमा १८ रन मात्र खर्चेर २ विकेट लिए । दिपक चाहर, महिश थिक्सना र मथिसा पथिरानाले समान २ विकेट लिँदा तुसार देसपाण्डेले १ विकेट लिए ।