Breaking

नीति तथा कार्यक्रममाथि आज पनि छलफल


काठमाडौँ – सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आज पनि छलफल जारी रहनेछ । आइतबारदेखि सुरू भएको उक्त छलफलमा आज पनि सांसदहरूले आफ्ना धारणा राख्ने भएका हुन् ।

जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न आज बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।

यसअघि सोमबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी सत्ता पक्षका सांसदहरूले नीति कार्यक्रम राम्रो रहेको बताउँदै कार्यान्यवनमा जोड दिएका थिए । प्रतिपक्षका सांसदहरूले नीति तथा कार्यक्रमले अहिलेको मुलुकको समस्या समाधान गर्ने गरी कार्यक्रम नसमेटेको टिप्पणी गरेका थिए ।

सरकारको नीति तथा कार्यक्रममाथिको पहिलो दिनको छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो धारणा राखेका थिए । यस्तै छलफलको दोस्रो दिन सोमबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनलगायतका शीर्ष नेताले सम्बोधन गरेका थिए ।

२० जना सांसदले नीति तथा कार्यक्रम संशोधनको सूचना नै दर्ता गराएका छन् । तर अहिले दर्ता भएका संशोधनको सूचनामाथि होस् या सांसदले छलफलमा भाग लिएर दिएका सुझाव नीति तथा कार्यक्रममा समेटिने सम्भावना न्यून छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा प्रतिपक्षीले मात्रै नभएर सत्ता पक्षकै सांसदहरूले पनि संशोधन दर्ता गराएका छन् ।

नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने सांसदहरूले नीतिगत भ्रष्टाचार नियन्त्रणका लागि खरिद ऐन संशोधन गर्नुपर्ने र संसदीय अनुगमनलाई महत्त्व दिनुपर्ने सुझाव दिएका छन् । कृषि उत्पादन वृद्धिका लागि भूमिको चक्लाबन्दी सम्बन्धी नीति नै बनाउनुपर्ने सुझाव सांसदहरूको छ ।