काठमाडौँ — काभा वुमन्स च्यालेन्ज कप भलिबलमा घरेलु टोली नेपालले विजयी शुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आज (सोमबार) भएको उदघाटन खेलमा कीर्गिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले विजयी शुरुवात गरेको हो । नेपालले कीर्गिस्तानमाथि २५–११, २५–१९ र २५–११ बाट सहज रुपमा खेल जितेको हो। जितसँगै नेपालले ३ अंक जोडेको छ । आजै भएको अर्को खेलमा उपाधि दावेदार भारतले बंगलादेशमाथि ३–० को सोझो सेटमा खेल जित्दै विजयी शुरुवात गरेको छ । भारतले बंगलादेशमाथि २५–३, २५–९ र २५–६ बाट सहज रुपमा खेल जितेको हो ।
जितसँगै भारतले समूह ‘ए’ मा ३ अंक जोडेको छ । आज नै भएको अर्को खेलमा उज्वेकिस्तानले श्रीलंकामाथि ३–० को सोझो सेटमा जितेर विजयी शुरुवात गरिसकेको छ । लिगको अन्तिम खेलमा साँझ ७ बजे माल्दिभ्स र कजाकस्तानबीच प्रतिस्पर्धा हुँदै छ । ८ राष्ट्रको सहभागिता रहेको च्यालेन्ज कपमा सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । एक हप्तासम्म चल्ने प्रतियोगिताको शुरुवाती ३ दिन ४ खेल र बाँकी ४ दिन २ खेल हुनेछन् । दुई समूहको राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया