विदेश

चलचित्र जारी पोर्चुगलमा प्रदर्शन


काठमाडौँ — पोर्चुगलमा नेपाली चलचित्र जारी प्रदर्शन हुने भएको छ । पोर्चुगलको लिस्बनमा सिनेमा आइडियल हलमा आइतबारबाट प्रदर्शन भएको हो । चलचित्र पोर्चुगलमा मनोरञ्जनका कार्यक्रमहरुको व्यवस्थापन गर्दै आइरहेको नेप्स इन्टरटेन्मेन्टले लिस्बनमा प्रदर्शनमा ल्याएको हो । लिम्बू समुदायको सँस्कृतिमा आधारित उक्त चलचित्रमा जारी प्रथाको सेरोफेरोमा कथावस्तु बनाइएको छ । नेप्स इन्टरटेन्मेन्टका समिर गुरुङले भव्य रुपमा प्रदर्शन शुरु भएको जारीको आइतबार र सोमबार हल हाउसफुल भएको जनाएको छ ।

गुरुङले मंगलबार र बुधबारका लागि सिमित टिकट मात्र बाँकी रहेको जानकारी दिए । उक्त चलचित्र मे २७ मा पोर्चुगलकै फारोमा पनि प्रदर्शन हुनेछ । बाँसुरी फिल्म्सको प्रस्तुति रहेको चलचित्र जारीमा दयाहाङ राई, मिरुना मगर, प्रेम सुब्बा, विजय बराल, कमलमणि नेपाल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू अनिल सुब्बा, पुष्कर गुरुङ, उपासना नेम्वाङ लगायतका कलाकारहरुको अभिनय छ । जारीको लेखन तथा निर्देशन उपेन्द्र सुब्बाले गरेका हुन् ।