विदेश

जापानमा जी–सेभेनको सम्मेलन, अरु ८ देश पनि सहभागी

योहो संवाददाता

काठमाडौँ — विश्वका धनी तथा औद्योगिक मुलुकहरुको संगठन जि–सेभेनको सम्मेलन शुक्रबारदेखि जापानको हिरोशिमामा आयोजना गरिएको छ । यस वर्षको आयोजक जापानका प्रधानमन्त्री फुमियो किशिदाले यो शिखर सम्मेलनमा थप आठजना पाहुनालाई निम्तो गरेका छन् । विश्वका धनी तथा औद्योगिक मुलुकहरुको संगठन जि–सेभेनको सम्मेलन जापानको हिरोशिमामा आयोजना गरिएको छ । संसारका सबैभन्दा ठूला अर्थतन्त्र भएका सात राष्ट्रहरू क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, यूके र अमेरिका जि सेभेनमा आबद्ध छन् । यो समूहले आफूलाई मूल्य मान्यतामा आधारित समूह मान्दछ र आफ्नो मूल सिद्धान्तका रूपमा स्वतन्त्रता र मानव अधिकार, प्रजातन्त्र र कानुनी राज एवम् समृद्धि र दिगो विकासलाई ग्रहण गर्दछ ।

सन् १९७५ मा पहिलो पटक छ राष्ट्रहरूले विश्वव्यापी आर्थिक सङ्कटको सम्भावित समाधानका लागि विचार आदानप्रदान गर्न भेटेका थिए । क्यानाडा भने सन् १९७६ मा मात्रै यो समूहमा जोडिएको थियो । जी–सेभेन राष्ट्रमा मन्त्रीहरू र अन्य सरकारी अधिकारीहरू विभिन्न आपसी हितका विषयमा कुराकानी गर्न वर्षभरि नै भेटिरहन्छन् । प्रत्येक सदस्य राष्ट्रले एक वर्षका लागि यसको अध्यक्षता ग्रहण गर्छ र वार्षिक रूपमा दुईदिने राष्ट्रप्रमुखहरूको शिखर सम्मेलन आयोजन गर्छ ।

उर्जा नीति, जलवायु परिवर्तन, एचआइभी एड्स, एवम् विश्व सुरक्षा यसका शिखर सम्मेलनमा छलफल भएका केही विषयहरु हुन् । यस वर्षको आयोजक जापानका प्रधानमन्त्री फुमियो किशिदाले यो शिखर सम्मेलनमा थप आठजना पाहुनालाई निम्तो गरेका छन् । रुस युक्रेन युद्ध चरम उत्कर्षमा पुगेको बेला जि–सेभेनको बैठकमा विश्वका अन्य देशहरुलाई पनि सहभागि गराइनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

युरोपेली संघ यसको आधिकारिक सदस्य नभए पनि उसले प्रतिनिधिहरू पठाउने गरेको थियो । यसपटक भने सम्मेलनमा अस्ट्रेलिया, भारत, ब्राजिल, दक्षिण कोरिया, भियतनाम, इन्डोनेसिया, अफ्रिकन युनियनको प्रतिनिधित्व गर्दै कोमोरोस र प्यासिफिक टापु फोरमको प्रतिनिधित्व गर्दै कुक आइल्याण्ड पनि सहभागि हुँदैछन् । जि–सेभेनको घट्दो आर्थिक प्रभावलाई पुर्नजिविन दिन संगठनले अन्य साथीहरुको खोजी गरिरहेको जानकारहरु बताउँछन् । सन् १९९० ताका जि–सेभेन समुहसँग विश्वको कुल जिडिपीको आधाभन्दा बढी हिस्सा थियो ।

अहिले यो हिस्सा ३० प्रतिशतभन्दा तल झरेको छ । जापानी प्रधानमन्त्री फुमिओ किशिदाले पछिल्लो १८ महिनामा भारत, अफ्रिकालगायत १६ देशको भ्रमण गरेका थिए । उक्त भ्रमणमार्फत उनले विश्वमा रुस र चिनको पैसा र शक्तिको बिकल्प छ भन्ने विश्वाश दिलाउन खोजिएको बताएका छन् । जि–सेभेनको शिखर सम्मेलनका लागि जापानी प्रहरीले उच्च सर्तकता अपनाएको छ । नेशनल पुलिस एजेनसीले २४००० कर्मचारीहरु खटाउने भएको छ । जुन् सन् २००० पछि कुनै पनि शिखर सम्मेलनको लागि सबैभन्दा ठुलो संख्यामा प्रहरी परिचालन हो ।