पर्यटन

पासाङ ल्हामु शेर्पाका श्रीमान् सोनामले गरे सगरमाथा आरोहण, ३० वर्षपछि पूरा भयो सपना


काठमाडौँ – राष्ट्रिय विभूति नेपालको पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाका श्रीमान् यती समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन् ।

आज बिहान ७ बजेर ३४ मिनेटमा सोनामले सगरमाथाको चुचरोमा पाइला टेकेको उनकी छोरी दावाफुटी शेर्पाले जानकारी दिइन् ।

यसअघि श्रीमती पासाङसँगै सगरमाथाको शिखर चुम्ने सोनामको प्रयास असफल भएको थियो । दुवै जना सगरमाथा आरोहणका लागि गएकोमा सोनाम क्याम्प २ बाटै फर्केका थिए । तर, पासाङले २०५० वैशाख १० गते सगरमाथा आरोहण गरेकी थिइन् ।
शिखर चुमेर फर्किने क्रममा पासाङको निधन भएको थियो ।

सोनामले यसअघि ६ वटा महादेशका अग्ला हिमाल आरोहण गरिसकेका छन् । सगरमाथासमेत आरोहण गरेर उनले सातवटै महादेशका अग्ला हिमाल आरोहण गर्ने आफ्नो सपना पूरा गरेका छन् ।