विदेश

रुसमाथि जवाफी आक्रमण गर्दै युक्रेन, हतियार जुटाउन जेलेन्स्की निस्किए भ्रमणमा

योहो संवाददाता

काठमाडौँ — युक्रेनमाथि रुसले पुनः मिसाइल प्रहार गरेको छ । युक्रेनको राजधानी किभमा रुसले पुनः भारी हवाई हमला गरेको हो । हमलामा ड्रोन र मिसाइल दुवै प्रयोग गरिएको थियो । युक्रेनको राजधानी किभमा रुसले पुनः हवाई हमला गरेको छ । युक्रेनको युद्ध अझै लामो समयसम्म चल्ने सम्भावना बढ्दै गएको छ । यो महिना मात्रै रुसले युक्रेनमा आठौँ पटक हमला गरेको छ । रुसले जुन हमला गरिरहेको छ त्यसमा ड्रोन र मिसाइल दुवै प्रयोग गरिएको छ । किभको सैन्य प्रशासनका प्रमुख सेरी पोप्कोले छोटो अवधिमा धेरै मिसाइलहरू एकैसाथ प्रयोग भइरहेको बताएका छन् ।

उनले किभमा धेरैजसो रुसी आक्रमण असफल भएको पनि जानकारी दिएका छन् । यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भने बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग द्विपक्षीय भेटवार्ताका लागि बेलायत भ्रमणमा छन् । युक्रेनी राष्ट्रपतिको यो भ्रमण रुसी सेनामाथि युक्रेनको सम्भावित जवाफी आक्रमण सुरु हुनु अगाडि भएको हो । युक्रेनले आगामी हप्ताभित्रै रुसमाथि जवाफी आक्रमण सुरु गर्नसक्ने बताइएको छ । युक्रेन युद्धको सुरुवातदेखि नै युक्रेनलाई हतियार उपलब्ध गराउने मुलुकहरुमा बेलायत पनि रहेको छ । यद्यपि अमेरिकाको तुलनामा बेलायतले निकै कममात्रै हतियार युक्रेनलाई दिएको छ । युक्रेनलाई लामो दूरीका मिसाइल दिन लागेको कुराको पुष्टि बेलायतले यसै महिनामात्रै गरेको छ ।

त्यसमध्ये स्टोर्म शेडो क्रूज मिसाइलले साढे २ सय किलोमिटर सम्म क्षति पुर्याउन सक्छ । त्यस्तै अमेरिकाले युक्रेनमा पठाएको हिमार मिसाइलले चाहिँ केवल ८० किलोमिटरको दूरीमा मात्रै हमला गर्न सक्दछ । बेलायतले प्रदान गर्ने उक्त मिसाइल युक्रेनमा हालसम्म उपलब्ध मिसाइलमध्ये सबैभन्दा धेरै मारक क्षमता तथा दूरी भएको मिसाइल हो । यसलाई विमानबाट मार हानिन्छ भने तल्लो सतहमा उडेर यसले राडारलाई नै चक्मा दिन सक्दछ । यो मिसाइलबाट युक्रेनले रुसका ती क्षेत्रहरुमा समेत आक्रमण गर्न सक्नेछ । जसलाई रुसले हालसम्म सुरक्षित मानेको छ ।

यता यी दुई देशको युद्ध अहिले नै शान्ति वार्ता सम्भव नभएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बताएका छन् । भविष्यमा रूस र युक्रेनलाई वार्ताको टेबलमा ल्याउन सम्भव भएपनि तत्काल कुनै पक्ष यसका लागि तयार नदेखिएको उनले भनाई छ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको लालचौकमा आयोजित विजय दिवस परेडमा विश्व महत्वपूर्ण मोडमा रहेको र रूसविरुद्ध युद्ध सुरु भएको दाबी गरेका थिए । त्यसको अघिल्लो दिन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नाजीवादलाई परास्त गरेझैं रूसी सेनालाई पनि परास्त गरिने दृढता व्यक्त गरेका थिए । यी दुई देशको युद्ध कहाँ सम्म जाने हो । अहिले नै भन्न सकिन्ने कुनै संकेत छैन ।