Breaking

शरणार्थी प्रकरणः रास्वपा सडकमा, प्रचण्डमाथि बाबुरामको शंका, के ठुला नेता छुट्दैछन ?


काठमाडौँ — भुटानी शरणार्थी प्रकरणमा सत्यतथ्य छानविनको पक्षमा सडक जुर्मराउन थालेको छ । पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री, नागरिक समाजका अगुवा मात्र होइन सत्तापक्ष र प्रतिपक्ष दलका नेता कार्यकर्ता नै जनदवावका लागि सडकमा पुगेका छन् । पूर्व गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको तीन दिन वित्यो । तर अझै बयान लिने काम सकिएको छैन । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका एमाले नेता टोपबहादुर रायमाझी कहाँ लुकेर बसिरहेका छन् अझै अत्तोपत्तो छैन । १० दिन वितिसक्दा पनि उनलाई पक्राउ गर्न सुरक्षा संयन्त्र सफल बन्न सकेको छैन ।

देशका उच्च पदस्थ व्यक्तिहरुको संलग्नता पाइएको यो काण्डले राष्ट्रिय राजनीति तरंगित छ भने अन्तराष्ट्रिय रुपमा पनि चासोको रुपमा हेरिएको छ । यो प्रकरणको सत्यतथ्य छानविन सहित निष्कर्षमा पु¥याउन सरकारलाई दवाव दिन काठमाडौंसहित देशका विभिन्न ठाउँमा शृङखवद्ध भ्रष्टाचार विरोधी प्रदर्शनहरु सुरु भएका छन् । तर शीर्ष नेताहरुको दौडधूप एकाएक बढेपछि यो केस डिसमिस पो हुने हो कि भन्ने शंसय पनि बढिरहेको छ । राजनीतिक पहुँचका आधारमा उन्मुक्ति दिने डरले नागरिक समाज सडकमा ओर्लिएका छन् भने पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री, सांसद सत्तापक्ष र प्रतिपक्ष दलका नेता कार्यकर्ता नै सडक रोज्न पुगेका छन् ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व गृहमन्त्री रवि लामिछानेदेखि सांसद, नागरिक समाजका अगुवा, सत्तापक्ष प्रतिपक्ष दलका नेता कार्यकर्ताले शनिवार काठमाडौमा शान्तिपूर्ण प्रर्दशन गरे । शनिवार पूर्वगृहमन्त्री खाँणकै गृहजिल्ला निर्वाचन क्षेत्रमा समेत प्रर्दशन भयाये । अनुसन्धानमा सरकारको विश्वास नलागेपछि सडकमार्फत जनदबाब सुरु गरिएको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई बताउँछन् । उनी मात्र होइन उनकी श्रीमती हिसिला यमी पनि भ्रष्टाचार विरुद्धको अभियानमा उत्रिएकी छिन् । यसअघि पटक–पटक अनियमितामा मुछिएकी यमी भुटानी शरणार्थी प्रकरणमा भने निष्पक्ष छानविनका लागि भन्दै सडकमा देखिएकी हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान गरेर सत्यतथ्य बाहिरा आउला भन्नेमा नागरिक समाजका अगुवामात्रै होइन, राजनीतिक दलका नेताहरु नै विश्वस्त हुन सकिरहेका छैनन् । सरकारको कदमको समर्थनसहित दबरदारी गर्नेहरुको लर्को सडकमा बढ्न थालेको छ । यो विषय निष्कर्षमा नपुग्जेल सदन र सडकमा आफूहरुको सशक्त भुमिका बनाइरहे पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ ।

भूटानी शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गर्न सरकारले खुट्टा कमाउनु नहुने सुझाव अभियन्ताहरुको छ । भ्रष्टाचारको विस्तृत र निष्पक्ष छानबिन हुनुपर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग बलियो छ । यो विषयलाई राजनीतिकरण गर्ने र दोषि उम्काउने प्रयास हुने सम्भावनाबारे आम सर्वसाधारण अनविज्ञ छैनन् । त्यसैले उनीहरु स्वः स्फूर्त खबरदारीका लागि सडकमा देखिन थालेका छन् । भुटानी शरणार्थीमात्रै नभई अरु थुप्रै भ्रष्टाचारका फाइलहरु खोल्न बाँकी छ ।

यति, ओम्नी, ७० करोड काण्डदेखि क्यानटोनमेन्ट घोटला काण्डमा भएको भ्रष्टाचारको फाइल खोल्न जनदवाब बढिरहेको छ । यो प्रकरण बाहिर ल्याएकोमा सरकारलाई धन्यवाद दिँदै विरोध प्रदर्शनमा उत्रिएकाहरु अरु ठूला भ्रष्टाचार काण्डका फाइलहरु पनि खोल्न भनिरहेका छन् ।